४ पौष, काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको गुटबन्दी पूर्ण रूपमा अन्त्य भएको दाबी गर्नुभएको छ ।
११औं राष्ट्रिय महाधिवेशनबाट तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि शुक्रबार काठमाडौँमा आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले निर्वाचनको परिणाम सार्वजनिक भएसँगै सबै प्यानल र समूहहरू स्वतः समाप्त भएको घोषणा गर्नुभयो । निर्वाचनका दौरान लोकतान्त्रिक अभ्यासका क्रममा विभिन्न प्यानल वा स्वतन्त्र रूपमा उम्मेदवारी दिइएको भए तापनि अब सबै नेताहरू एउटै उद्देश्यका लागि गोलबन्द हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष ओलीले सम्बोधनका क्रममा चुनावी प्रतिस्पर्धालाई केवल प्रक्रियाको रूपमा लिन आग्रह गर्दै अबको एमाले कुनै गुटको नभई देश हाँक्ने एकढिक्का शक्ति बनेको बताउनुभयो। ‘हिजो चुनावमा लड्दा प्यानल भएर लडियो होला वा कोही स्वतन्त्र भएर लडियो होला, तर त्यो अवस्था हिजै सकियो,’ उहाँले भन्नुभयो, ‘अब एमालेको केन्द्रीय कमिटीमा कोही यो वा त्यो प्यानलको छैन, हामी सबै देश बनाउने अभियानमा होमिएका एमाले मात्र हौँ।’ उहाँले पार्टीभित्र अब कुनै पनि प्रकारको भेदभाव वा समूहगत भावनालाई स्थान नदिइने स्पष्ट पार्नुभयो।
बिहीबार मात्रै आफ्ना निकटतम प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा ‘ह्याट्रिक’ गर्नुभएका ओलीले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै आगामी चुनौतीहरूको सामना गर्न सबैलाई एकजुट हुन निर्देशन दिनुभयो। महाधिवेशनले दिएको नयाँ म्यान्डेटसँगै एमाले अझ जुझारु र अनुशासित पार्टीको रूपमा अगाडि बढ्ने उहाँको दाबी थियो । जारी केन्द्रीय कमिटी बैठकमा उहाँले पार्टीको आगामी कार्यदिशा र साङ्गठनिक सुदृढीकरणका लागि सबैको साझा भूमिका रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।















