४ पौष, वीरगंज । सुरक्षित मातृत्व र प्रसूती सेवालाई नागरिकको घरदैलोसम्म पुर्याउने उद्देश्यले वीरगंज महानगरपालिका वडा नं. १८, भवानीपुरमा आजदेखि विधिवत रूपमा बर्थिङ सेन्टर (प्रसूती केन्द्र) सञ्चालनमा आएको छ।
महानगर प्रमुख राजेशमान सिंहले एक विशेष समारोहबीच केन्द्रको उद्घाटन गर्दै सेवा शुभारम्भ गर्नुभयो। उद्घाटनका क्रममा बोल्नुहुँदै प्रमुख सिंहले ग्रामीण क्षेत्रका महिलाहरूले सामान्य प्रसूती सेवाका लागि पनि शहरका महँगा अस्पताल धाउनुपर्ने बाध्यता अब अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।
महानगरले मातृ तथा शिशु मृत्युदर घटाउन ‘घरमै सुरक्षित प्रसूती’ भन्दा ‘स्वास्थ्य संस्थामा सुरक्षित प्रसूती’ भन्ने नारालाई आत्मसाथ गरेको छ। प्रमुख सिंहले भन्नुभयो:
“ग्रामीण क्षेत्रका गर्भवती महिलाले राति–बेराति एम्बुलेन्स खोजेर शहर जानुपर्ने सास्ती अब हट्नेछ। हामीले गाउँमै दक्ष जनशक्ति र उपकरणसहितको सेवा सुनिश्चित गरेका छौँ।”
महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सेन्टरमा आवश्यक सबै भौतिक पूर्वाधार र स्वास्थ्यकर्मीको व्यवस्थापन गरिसकिएकाले स्थानीयले गुणस्तरीय सेवा पाउने बताउनुभयो। वडा अध्यक्ष उमाशंकर तिवारीले बर्थिङ सेन्टरको अभावमा विगतमा स्थानीयले भोग्नुपरेको सास्ती स्मरण गर्दै अब वडाबासीका लागि यो ठूलो उपलब्धि भएको उल्लेख गर्नुभयो।
नवनिर्मित बर्थिङ सेन्टरमा सेवाग्राहीको सहजताका लागि विभिन्न कक्षहरूको व्यवस्था गरिएको छ:
-
प्रि-डेलिभरी र पोस्ट-डेलिभरी कक्ष
-
जाँच तथा ड्रेसिङ रुम
-
प्रयोगशाला (ल्याब) र स्टोर
-
प्रशासनिक कक्ष तथा अपाङ्गमैत्री शौचालय
यसअघि महानगरले वडा नं. २१ लिपनीविर्ता र वडा नं. २८ बगहीमा पनि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइसकेको छ। बगहीमा त विशेषज्ञ चिकित्सकसहित २४ सै घण्टा ओपीडी सेवा समेत उपलब्ध गराइँदै आएको छ।
महानगरपालिकाले बजार क्षेत्रमा रहेका नारायणी अस्पताल र निजी क्लिनिकहरूको चाप घटाउन र ग्रामीण भेगको स्वास्थ्य स्तर सुधार्न यस्ता केन्द्रहरूलाई प्राथमिकतामा राखेको जनाएको छ।















