४ पुस, वीरगञ्ज। प्रदीप खण्डेलवाल मेमोरियल ट्रस्ट, आदर्शनगर वीरगञ्जको आयोजना तथा नेपाल औषधि व्यवसायी संघको सहकार्यमा आज एक भव्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ट्रस्टको आठौँ वार्षिकोत्सवको अवसर पारेर आयोजित उक्त कार्यक्रममा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो।
रक्तदान कार्यक्रममा ४ जना महिलासहित कुल ६९ जनाले रक्तदान गरेका थिए। रगत दान गर्नेहरूमा सलोनी गुप्ता, विभ्या पाल, विजय चौधरी, नरेश पाल, महेश्वर पाण्डेय, आयुष चौधरी, रोहित पटेल, उमेश चौधरी, रोहित पासवान, बृजपाल चौधरी, आलोक नारायण पाण्डे, दामोदर पण्डित, जितेन्द्र पाण्डे, सत्यम कर्ण, अरुण चौधरी र बन्धन साह लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष अशोक कुमार टेमानी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी, औषधि व्यवस्था विभाग वीरगञ्ज शाखाका प्रमुख शम्भु साह विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष कुमार गुप्ताको पनि विशेष उपस्थिति रहेको थियो।
ट्रस्टकी अध्यक्ष पुष्पा देवी खण्डेलवालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा वक्ताहरूले रक्तदानलाई ‘जीवनदान’को रूपमा व्याख्या गर्दै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र रगतको अभावमा कसैले ज्यान गुमाउनु नपर्ने वातावरण सिर्जना गर्ने बताए।
रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिकहरू मनिष साह, नितेश यादव र बिबेक कुमार लगायतको टोलीले कार्यक्रममा प्राविधिक सहयोग पुर्याएको थियो। वार्षिकोत्सवको अवसरमा ट्रस्टले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको र आगामी दिनमा पनि यस्ता मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।















