६ पौष, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ५ अन्तर्गत रेल्वे रोडस्थित कुम्हालटोल सामुदायिक प्रहरी सेवा केन्द्र अगाडि रहेको एक मदिरा भट्टीमा आज बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा भीषण आगलागी भएको छ।
मदिरा भट्टीमा खाना पकाउन प्रयोग गरिएको ग्यास सिलिन्डर एकाएक विस्फोट भएपछि आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्। विस्फोटको आवाज टाढासम्म सुनिएको र आगो तीव्र रूपमा फैलिँदा आसपासका पसल तथा बस्तीमा त्रास फैलिएको छ।
घटनाको जानकारी पाउनासाथ वीरगञ्ज महानगरपालिकाको दमकल टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। दमकल टोलीले आगलागी फैलिन नदिन निरन्तर प्रयास गरिरहेको जनाएको छ।
हालसम्म आगलागीबाट मानवीय क्षति भएको–नभएको स्पष्ट विवरण प्राप्त भइसकेको छैन। घटनाको कारण र क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।















