Logo

६ पौष, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अदालतको आदेशपछि धरौटीमा रिहा भएसँगै पार्टीको आन्तरिक गतिविधिले तीव्रता पाएको छ ।

पुर्पक्षका लागि थुनामा रहेका लामिछाने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशबमोजिम शुक्रबार रिहा भएर शनिबार काठमाडौँ फर्किएपछि पार्टीले नयाँ रणनीति तय गर्न केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको हो । कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बैठकको समय र एजेन्डाका विषयमा महामन्त्री मुकुल ढकालसँग सघन संवाद भइरहेको र छिट्टै औपचारिक निर्णय सार्वजनिक गरिने जानकारी दिएका छन् ।

सभापति लामिछानेको पुनरागमनलाई उत्सवका रूपमा मनाउन रास्वपाले आज दिउँसो ३ बजे काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा विशेष स्वागत कार्यक्रमको आयोजना गरेको छ । हिजो चितवनमा आयोजित सभामा समर्थकहरूलाई सम्बोधन गर्दै आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी गरेका लामिछानेलाई पार्टीले भव्य स्वागत गर्ने तयारी गरेको हो । लामिछानेको रिहाइपछि अब पार्टीको आगामी राजनीतिक दिशा, संसदमा खेल्ने भूमिका र संगठन विस्तारका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक अनिवार्य देखिएकाले आन्तरिक गृहकार्यलाई तीव्र बनाइएको बुझिएको छ ।

सहकारी प्रकरणमा लामो समयको कानुनी झमेलापछि मैदानमा फर्किएका लामिछानेलाई स्वागत गरेलगत्तै रास्वपाले आफ्नो राजनीतिक सक्रियतालाई नयाँ ढंगले अगाडि बढाउने संकेत गरेको छ कार्यवाहक सभापति अर्यालका अनुसार सभापतिको उपस्थितिमा बस्ने आगामी बैठकले पार्टीको भविष्यको कार्यदिशा र पछिल्लो राजनीतिक घटनाक्रमबारे ठोस धारणा तय गर्नेछ । यसअघि कार्यवाहक नेतृत्वको भरमा चलेको पार्टीमा अब सभापति स्वयंले कमान सम्हाल्ने भएपछि कार्यकर्ता र शुभचिन्तकहरूमा नयाँ उत्साह देखिएको छ ।


सम्बन्धित समाचार