Logo

६ पौष, काठमाडौं ।  सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छन सोङबिच आइतबार सिंहदरबारमा बिदाइ भेटवार्ता भएको छ ।

आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्किन लागेका राजदूत सोङसँगको भेटमा सभामुख घिमिरेले नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउन र संसदीय सहकार्य विस्तार गर्न राजदूतले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। भेटका क्रममा सभामुखले नेपाल सधैँ ‘एक चीन’ नीतिप्रति अडिग रहेको र नेपाली भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता पुनः दोहोर्‍याउनुभयो ।

कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै गर्दा भएको यस भेटमा दुवै पक्षले विगतका उपलब्धिहरूको समीक्षा गरेका थिए। सभामुख घिमिरेले चीनले नेपाललाई ‘भूपरिवेष्टित’ बाट भू–जडित मुलुक बनाउन पुर्‍याएको सहयोगको कदर गर्दै बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरूलाई द्रुत गतिमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले दुई देशका संसदबिचको नियमित संवादले आपसी सम्बन्धलाई थप फराकिलो बनाएको धारणा राख्नुभयो ।

बिदाइको अवसरमा राजदूत छन सोङले नेपालसँगको जनस्तरको सम्बन्ध प्रगाढ रहे पनि आर्थिक साझेदारीलाई अझै उचाइमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । आफ्नो कार्यकालमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरू कार्यान्वयनमा सफलता मिलेको बताउँदै उहाँले धेरै चिनियाँ व्यवसायीहरू नेपालको जलविद्युत र अन्य क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जानकारी दिनुभयो । राजदूत सोङले नेपालमा रहँदा पाएको माया र सहयोग आफ्नो लागि सधैँ स्मरणीय रहने बताउँदै नेपाल चीनको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो ।


सम्बन्धित समाचार
भर्खरै