Logo

६ पौष, काठमाडौं । जेनजी समूहका प्रतिनिधि मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकाल्दै सर्वपक्षीय सरकार गठनको मागसहित नयाँ आन्दोलनको घोषणा गरेको छ ।

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा ढुंगानाले सरकारको १०० दिने कार्यकालले भदौमा भएको जनआन्दोलनको मर्मलाई सम्बोधन गर्न नसकेको र देशलाई निकास दिनुको साटो चुनावको रट मात्र लगाएको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकारले आन्दोलनकारीलाई धोका दिएको दाबी गर्दै भोलि सोमबारदेखि नै सडकमा ओर्लिने चेतावनी दिनुभएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ढुंगानाले भदौको ‘जेनजी आन्दोलन’ कुनै खास व्यक्तिको ब्रान्ड बनाउन वा नेताहरूका लागि सत्ता चढ्ने सिँढीका रूपमा नभई समग्र व्यवस्था परिवर्तनका लागि भएको स्पष्ट पार्नुभयो । उहाँले सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको भावना बोक्न नसक्ने भएकाले अब सबै पक्षलाई विश्वासमा लिन सक्ने र राजनीतिक गतिरोध अन्त्य गर्न सक्ने सर्वपक्षीय सरकार निर्माण हुनुपर्नेमा जोड दिनुभयो । वर्तमान नेतृत्वले देशको आवश्यकता बुझ्न नसकेको भन्दै उहाँले सत्ताको नेतृत्व गर्नेहरूले आन्दोलनको जगमा टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्न खोजेको टिप्पणी गर्नुभयो ।

ढुंगानाले सरकारले सन् २०२७ को चुनावलाई सन् २०२५ मा सार्ने कुरालाई मात्र प्राथमिकता दिएको भन्दै त्यसप्रति कडा आपत्ति जनाउनुभयो । निर्वाचनको मिति सार्नका लागि मात्र आन्दोलन नभएको जिकिर गर्दै उहाँले अहिलेको मुख्य आवश्यकता दलीय स्वार्थभन्दा माथि उठेर सबैको प्रतिनिधित्व हुने सरकार निर्माण गर्नु रहेको बताउनुभयो ।

भोलिदेखि सुरु हुने भनिएको यस आन्दोलनले सुशीला कार्की नेतृत्वको सरकारलाई थप दबाब दिने र राजनीतिक वातावरण पुनः तातिने देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै