६ पौष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आइतबार काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ ।
भैरहवा कारागारबाट रिहा भएर शनिबार मात्रै काठमाडौं आइपुगेका लामिछानेलाई स्वागत गर्न पार्टी कार्यालयमा नेता, कार्यकर्ता तथा सुभेच्छुकहरूको ठूलो उपस्थिति रहेको थियो । समर्थकहरूले उनलाई बाजागाजा र नाराबाजीसहित स्वागत गर्दै खुसीयाली मनाएका छन्, जसले गर्दा वनस्थली क्षेत्रमा केही समय चहलपहल निकै बढेको थियो ।
लामो समयको हिरासत र कानुनी प्रक्रियापछि काठमाडौं फर्किएका लामिछानेलाई पार्टी कार्यालय पुग्दा फूलमाला र अबिरले स्वागत गरिएको छ । स्वागत समारोहमा सहभागीहरूले उनीमाथि लगाइएका आरोपहरू राजनीतिक प्रतिशोध भएको दाबी गर्दै आएका छन् । कार्यकताहरूको बाक्लो उपस्थितिका बिच लामिछानेले उपस्थित सबैसँग अभिवादन स्वीकार गर्दै पार्टीको आगामी कार्यदिशा र अहिलेको राजनीतिक परिस्थितिबारे छलफल गर्ने संकेत दिएका छन् ।
स्वागत लगत्तै पार्टीको आन्तरिक रणनीति तय गर्न रास्वपाले आजै केन्द्रीय समितिको बैठक पनि आह्वान गरेको छ । उक्त बैठकमा सभापति लामिछानेले आफ्नो हिरासत अनुभव, कानुनी लडाइँ र पार्टीको आगामी आन्दोलनका कार्यक्रमहरूका बारेमा जानकारी गराउने बुझिएको छ । लामिछानेको पुनरागमनसँगै रास्वपाले सडक र सदन दुवैमा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउने तयारी गरेको देखिन्छ ।















