६ पौष, काठमाडौं । मधेश प्रदेशसभाले नयाँ नेतृत्व पाएको छ।
आइतबार भएको निर्वाचनमा सात दलीय गठबन्धनका साझा उम्मेदवार रामअशिष यादव भारी बहुमतका साथ सभामुख पदमा निर्वाचित हुनुभएको हो । कूल १०७ सदस्यीय प्रदेशसभामा आज ९६ जना सांसदहरूको उपस्थिति रहेको थियो, जसमध्ये यादवको पक्षमा ७२ मत र विपक्षमा २४ मत खसेको थियो । उपसभामुख बबिता राउत ईसरले मत विभाजनको परिणाम सुनाउँदै यादव निर्वाचित भएको औपचारिक घोषणा गर्नुभयो ।
नवनिर्वाचित सभामुख यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँलाई सभामुख बनाउन नेपाली कांग्रेसका सांसद वीरेन्द्र प्रसाद सिंहले प्रस्ताव गर्नुभएको थियो । बहुमत सदस्यहरूले यादवको पक्षमा मतदान गरेसँगै अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्तावमाथि भने छलफल नै भएन ।
यसअघि नेकपा एमालेका तर्फबाट सभामुख रहनुभएका रामचन्द्र मण्डललाई पद अनुकूलको आचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाइ बहुमतबाट पदमुक्त गरिएको थियो । मण्डलको बहिर्गमनपछि रिक्त रहेको सो गरिमामय पदमा यादवको चयनले मधेशको राजनीतिमा सत्ता गठबन्धनको पकड थप बलियो भएको देखिएको छ । सभामुख चयनसँगै मधेश प्रदेशसभाले झन्डै एक महिनापछि पूर्णता पाएको छ, जसले अब प्रदेशका अन्य विधायीकी कार्यहरूलाई गति दिने अपेक्षा गरिएको छ ।















