६ पौष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाका नाममा राजनीतिक षड्यन्त्र नगर्न सत्ताधारी र विपक्षी दलहरूलाई कडा चेतावनी दिनुभएको छ ।
आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले कतिपय शक्तिहरू पुरानो संसद् ब्युँझाउने दौडधुपमा लागेको सूचना आफूले पाएको खुलासा गर्नुभयो । उहाँले जनताको आवाज उठाउँदा उठ्दै माइक काट्ने र जनसरोकारका मुद्दामा मौन रहने संसद् ब्युँझाएर मुलुकले निकास नपाउने जिकिर गर्दै राजनीतिक दाउपेचका लागि षड्यन्त्रको आँखा नचम्काउन चेतावनी दिनुभएको हो ।
लामिछानेले मुलुकमा भत्किएका भौतिक संरचना र सिंहदरबार बनाउनु मात्र ठूलो कुरा नभई त्यहाँभित्रको विकृत प्रणाली बदल्नु अहिलेको मुख्य आवश्यकता रहेकोमा जोड दिनुभयो। नयाँ पुस्ता (जेनजी) ले गरेको विद्रोह र योगदानलाई सार्थक निष्कर्षमा पुर्याउन रास्वपा दृढ रहेको उल्लेख गर्दै उहाँले अबको राजनीति संरचना निर्माणमा मात्र नभई पूर्ण रूपान्तरणमा केन्द्रित हुनुपर्ने बताउनुभयो । वर्तमान राजनीतिक अस्थिरताबीच संसद् पुनर्स्थापनाको चर्चा चल्नुले लोकतन्त्रमाथि नै नयाँ खेलबाड हुन लागेको भन्दै उहाँले त्यस्ता प्रयासहरू सफल हुन नदिने संकेत गर्नुभयो ।
कारागारबाट रिहा भएपछि पहिलो पटक सार्वजनिक सम्बोधनमा उत्रिनुभएका लामिछानेले आफू र आफ्नो पार्टीविरुद्ध भइरहेका घेराबन्दीलाई चिर्न जनताको साथ नै प्रमुख शक्ति भएको दाबी गर्नुभयो । षड्यन्त्रकारीहरूले पर्दापछाडिबाट गर्ने कुनै पनि सहमतिले जनभावनाको प्रतिनिधित्व नगर्ने भन्दै उहाँले राजनीतिक नेतृत्वलाई गम्भीर हुन आग्रह गर्नुभयो । लामिछानेको यो आक्रामक अभिव्यक्तिले आगामी दिनमा रास्वपाले सदन र सडकबाट राज्यका पुराना शक्तिहरूविरुद्ध थप कडा संघर्ष गर्ने देखिएको छ ।















