७ पौष, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जोडिएको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशी आइतबार तीन करोड रुपैयाँ धरौटीमा रिहा भएका छन्।
यसअघि गत बिहीबार उच्च अदालतले रवि लामिछानेलाई बिगोबापत धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो। सोही आदेशमा जोशीले निवेदन दिएमा पुनर्विचार गर्न सकिने उल्लेख भएपछि उनका तर्फबाट शुक्रबार निवेदन दर्ता गरिएको थियो।
रूपन्देही जिल्ला अदालतले उच्च अदालतको आदेशको कार्यान्वयन गर्दै जोशीले तीन करोड रुपैयाँ बराबरको बैंक जमानत बुझाएपछि उनलाई रिहा गरिएको जनाएको छ। जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार उच्च अदालतको आदेशअनुसार बैंक जमानत बुझाइएपछि जोशीलाई थुनामुक्त गरिएको हो।
यसअघि गत वर्ष माघ २८ गते रूपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।















