७ पुस, वीरगञ्ज। न्याय, संविधान र मानव अधिकारको रक्षाका लागि नेपाल बार एसोसिएसनको देशव्यापी अभियानअन्तर्गत आज वीरगञ्जमा ‘बार डे–२०८२’ (नेपाल बार एसोसिएसनको स्थापना दिवस) को अवसरमा भव्य प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
उच्च अदालत बार एसोसिएसन वीरगञ्ज र पर्सा जिल्ला अदालत बार एसोसिएसनको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो।
बिहान ७ बजे वीरगञ्जको मुख्य चोक घण्टाघरबाट सुरु भएको प्रभातफेरीमा सहभागीहरूले न्यायपालिकाको स्वतन्त्रता र कानुनी शासनको पक्षमा नारा लेखिएका ब्यानर तथा प्लेकार्डहरू बोकेका थिए। र्यालीले वीरगञ्ज बजारको विभिन्न भाग परिक्रमा गरी पुनः घण्टाघरमै पुगेर कोण सभामा परिणत भएको थियो।
कार्यक्रममा वीरगञ्ज क्षेत्रमा कार्यरत वरिष्ठ कानून व्यवसायी, अधिवक्ताहरू, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू र वीरगञ्ज स्कुल अफ ल मा बी.ए.एल.एल.बी. (BA LLB) तहमा अध्ययनरत विद्यार्थीहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो।
प्रभातफेरीपश्चात आयोजित कोण सभा उच्च अदालत बार एसोसिएसन वीरगञ्जका अध्यक्ष शैलेन्द्र वर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले वर्तमान अवस्थामा बारको भूमिका र जिम्मेवारीबारे चर्चा गरे।
सुधीर कर्ण (नेपाल बारका निवर्तमान उपाध्यक्ष): बार डे–२०८२ को शुभकामना दिँदै उहाँले स्वतन्त्र न्यायपालिका र मानव अधिकारको संरक्षणमा बारले सधैं पहरेदारको भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
रामनारायण कुर्मी (पर्सा जिल्ला अदालत बारका अध्यक्ष): उहाँले कानूनको शासन र न्यायमा नागरिकको सहज पहुँचका लागि कानून व्यवसायीहरू थप सशक्त र एकताबद्ध हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा उच्च अदालत बार एसोसिएसन वीरगञ्जका सचिव प्रज्वलन अधिकारी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उच्च अदालत बारका कार्यसमिति सदस्य चन्द्रिका प्रसाद पटेलले गर्नुभएको थियो।















