Logo

७ पौष, काठमाडौं । ललितपुरमा बोरामा प्याक गरिएको अवस्थामा शव भेटिएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले एकपछि अर्को बीभत्स हत्याको रहस्य पत्ता लगाएको छ ।

सिन्धुलीका केशवराज हायुको हत्या आरोपमा पक्राउ परेका व्यक्तिहरूकै बयानका आधारमा भोजपुरका २१ वर्षीय पारुहाङ राईको पनि हत्या भएको खुलासा भएको हो । प्रहरीले पारुहाङको शव आज भक्तपुर र ललितपुरको सिमानामा पर्ने सूर्यविनायक–७ स्थित जङ्गलमा फेला पारेको छ। यो सँगै एकै समूहबाट दुई जनाको हत्या भएको पुष्टि भएको छ ।

प्रहरीले यसअघि पुस २ गते ललितपुरको महालक्ष्मी नगरपालिका–८, शेरफाँटस्थित एउटा इनारमा हायुको शव फेला पारेको थियो। सोही घटनाको सूक्ष्म अनुसन्धानका क्रममा प्रहरीले सुरुमा देवराज ढुङ्गेललाई नियन्त्रणमा लिएको थियो । ढुङ्गेलको बयानका आधारमा अर्का आरोपित जयराज अधिकारीलाई सोमबार बिहान सिन्धुलीबाट पक्राउ गरिएपछि दोस्रो हत्याको रहस्य खुलेको हो । अधिकारीले नै पारुहाङको पनि हत्या गरी जङ्गलमा फालेको स्वीकार गरेपछि प्रहरीले शव उत्खनन गरी बरामद गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार पक्राउ परेका दुवै अभियुक्तले दुई फरक दिनमा दुई जनाको हत्या गरेको स्वीकार गरिसकेका छन् । उनीहरूले गत मंसिर २४ गते केशवराज हायुको र त्यसको भोलिपल्ट अर्थात् मंसिर २५ गते पारुहाङ राईको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुवै हत्याको कारण र उनीहरूको आपराधिक पृष्ठभूमिबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।


सम्बन्धित समाचार
भर्खरै