Logo

८ पौष, काठमाडौं । काठमाडौँको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गर्दै मेयर बालेन साह र रास्वपा सभापति रवि लामिछानेबीचको ‘गोप्य’ वार्ताले सत्ता र शक्ति समीकरणको नयाँ खाका कोरेको छ ।

कमलपोखरीस्थित असिम साहको कार्यकक्षमा भएको झन्डै सात घण्टा लामो सघन संवादमा दुई नेताहरू आगामी चुनावी यात्रा सँगै गर्ने भद्र समझदारी नजिक पुगेका हुन् । स्रोतका अनुसार यसपटकको निर्वाचनमा बालेन साहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्न लामिछाने सकारात्मक देखिएका छन् भने अर्को कार्यकालका लागि बालेनले रविलाई सघाउने गरी आलोपालो नेतृत्वको मोडालिटीमा छलफल केन्द्रित भएको छ ।

भैरहवा कारागारबाट मुक्त भएलगत्तै राजनीतिक सक्रियता बढाएका लामिछाने र बालेनबीचको यो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । वार्तामा सहभागी स्रोतका अनुसार सुरुमा सामूहिक छलफल भए पनि पछि दुई नेताबीच करिब पाँच घण्टा ‘वान अन वान’ वार्ता भएको थियो, जहाँ एउटै पार्टी वा बलियो मोर्चा बनाएर अघि बढ्ने विषयमा गम्भीर छलफल भयो । बालेन रास्वपाको घण्टी चुनाव चिह्न लिएर अघि बढ्न लचिलो देखिए पनि पार्टीको नाम र साङ्गठनिक स्वरूपका बारेमा भने केही प्राविधिक विषयहरू टुङ्ग्याउन बाँकी रहेको बुझिएको छ ।

देश बनाउने सर्तमा आफू पद त्याग्न तयार रहेको लामिछानेको सार्वजनिक उद्घोषले पनि यस समझदारीलाई बल पुऱ्याएको विश्लेषण गरिएको छ । यस वार्ताले वैकल्पिक राजनीतिक शक्तिहरूलाई एउटै कित्तामा उभ्याउने प्रयासको रूपमा जेनजी पुस्ताको भावनालाई समेत सम्बोधन गर्न खोजेको देखिन्छ ।

बालेन र रविबीचको यो मिलनलाई मध्यस्थताकर्ताहरूले ‘कथाको सुखद सुरुवात’ र देशले खोजेको आशाको मिलन भन्दै सामाजिक सञ्जालमा सकारात्मक सङ्केत दिएका छन् । छलफलमा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी लगायत अन्य साना दल र समूहहरूलाई समेत समेटेर एउटा बृहत् वैकल्पिक मोर्चा निर्माण गर्ने विषयमा कुराकानी भएको छ ।

सम्भवतः आजै हुने अर्को चरणको वार्ताले यो समझदारीलाई औपचारिक रूप दिने र नेपाली राजनीतिमा एउटा नयाँ ध्रुवीकरणको घोषणा हुने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै