Logo

default

८ पौष, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसोको प्रकोप बढ्दै जाँदा आज राजधानीको तापक्रम यस वर्षकै न्यून बिन्दुमा झरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको न्यूनतम तापक्रम आज ४।९ डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जुन हिजोको ६ दशमलव ८ डिग्रीको तुलनामा झण्डै दुई डिग्रीले कम हो । यसअघि गत मङ्सिर २८ गते न्यूनतम तापक्रम ५ डिग्रीसम्म पुगेको भए तापनि आजको गिरावटले यस वर्षकै नयाँ रेकर्ड कायम गरेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिनुभएको छ । चिसो हावा र घामको मधुरो उपस्थितिले गर्दा उपत्यकामा बिहानीपख जनजीवन निकै प्रभावित बनेको छ ।

तराईका जिल्लाहरूमा भने बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन थप कष्टकर बन्दै गएको छ। कतिपय स्थानमा भिजिबिलिटी कम भएपछि विद्यालयहरू समेत बन्द गर्न थालिएको छ । मौसमविद्हरूका अनुसार हाल पश्चिमी वायु सक्रिय हुन नसकेका कारण पर्याप्त वर्षा हुन सकेको छैन, जसले गर्दा आकाश खुल्न नपाई हुस्सु र कुहिरोको मात्रा बढेको हो । पहाडी तथा हिमाली क्षेत्रमा मौसम सामान्यतया सफा रहे पनि देशभरकै तापक्रममा गिरावट आउने क्रम जारी छ। आज मुलुकभरमै सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ३ डिग्री सेल्सियस मापन गरिएको छ ।


सम्बन्धित समाचार
भर्खरै