८ पौष, काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका प्रमुख राजनीतिक दलका कार्यालयहरूको आज सरकारी टोलीले स्थलगत अनुगमन गरेको छ ।
सरकारद्वारा गठित राजनीतिक संवाद समितिका संयोजक एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सम्मिलित टोलीले आज दिनभर विभिन्न पार्टी कार्यालय पुगेर क्षतिको विवरण संकलन गरेको हो ।
सरकारी टोलीले सुरुमा नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालय पुगेर अनुगमन गरेको थियो । त्यहाँ नेताहरूसँगको छलफलका क्रममा मन्त्री सिन्हाले लोकतन्त्रमा दलका कार्यालयमाथि हुने भौतिक आक्रमण स्वीकार्य नहुने र क्षतिको उचित मूल्यांकन गरी आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभयो । त्यसलगत्तै टोलीले नेकपा एमालेको कार्यालय र पेरिसडाँडास्थित नेपाली कम्युनिष्ट पार्टीको कार्यालयमा पुगेर पनि स्थलगत निरीक्षण गरेको छ । पेरिसडाँडामा सञ्चार मन्त्री खरेलले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट गरी कार्यालयमा भएको क्षतिको विवरण र आगामी निर्वाचनका विषयमा संक्षिप्त कुराकानी गर्नुभएको थियो ।
भदौको आन्दोलनका क्रममा दलका कार्यालय मात्र नभई केही शीर्ष नेताका निवास र सरकारी संरचनामा पनि क्षति पुगेको थियो । सरकारले फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा निर्वाचनअघि नै दलहरूबीचको दूरी कम गर्न र बिग्रिएका भौतिक संरचनाको पुनःनिर्माणमा सहयोग पुर्याउने उद्देश्यले यो अनुगमन गरेको बुझिएको छ ।
टोलीले आजै अन्य साना दलका कार्यालयहरूको पनि अनुगमन गर्ने कार्यक्रम रहेको र सबै विवरण संकलन गरेपछि प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।















