Logo

८ पुस,  वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा मंगलबार साँझ आगलागी भएको छ। अस्पतालको ऐश्वर्य प्रसूति गृह भवनमा रहेको एनआईसीयु (नवजात शिशु सघन उपचार कक्ष) वार्डमा साँझ करिब ४ः३० बजेतिर आगो लागेको हो।

प्रहरीका अनुसार एनआईसीयु वार्डमा जडान गरिएको एसीको विद्युतीय तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

अस्पतालका चिकित्सक डा. दीपक चौरसियाका अनुसार आगलागीका कारण एनआईसीयु वार्डमा जडान गरिएको एक थान एसी जलेर नष्ट भएको छ भने अन्य कुनै भौतिक क्षति भएको छैन। आगो लाग्ने बित्तिक्कै अस्पतालका कर्मचारीहरूले तत्काल बिजुलीको लाइन काटी अस्पतालमै रहेको फायर ग्यास सिलिण्डरको प्रयोग गरी आगो नियन्त्रणमा लिएका थिए।

त्यसलगत्तै वीरगञ्ज महानगरपालिकाबाट वारुण यन्त्र (दमकल) पनि घटनास्थलमा पुगेको भए पनि आगो नियन्त्रणमा आइसकेकाले प्रयोग गर्नु नपरेको डा. चौरसियाले बताए।

आगो लागेका बेला एनआईसीयु वार्डभित्र कुनै पनि बिरामी शिशु नभएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको अस्पतालले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै