Logo

८ पौष, वीरगञ्ज । विघटित प्रतिनिधि सभा (संसद्) पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेका नेपाली कांग्रेसका ६५ जना निवर्तमान सांसदको सूचीमा पर्सा जिल्लाका दुई जना पनि परेका छन्।

सर्वोच्च अदालतमा मंगलबार हस्ताक्षर बुझाउने कांग्रेसका निवर्तमान सांसदमध्ये पर्सा क्षेत्र नम्बर २ का अजयकुमार चौरसिया र पर्सा क्षेत्र नम्बर ४ का रमेश रिजाल रहेका छन्। दुवै जना पूर्वमन्त्रीसमेत हुन्।

यसअघि गत मंसिर २३ गते कांग्रेसका ८ जना निवर्तमान सांसदले संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। मंगलबार चौरसिया र रिजालसहित थप ५७ जनाको हस्ताक्षर जुटाएर रिट दर्ता गरिएको हो।

यसअघि नेकपा एमालेका ७५ सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाइसकेका छन्। एमालेले मंसिर १० गते र कांग्रेसका सांसदहरूले मंसिर २३ गते रिट दर्ता गरेका थिए।

हाल एमाले र कांग्रेसका सांसदहरूको हस्ताक्षर संख्या जोड्दा १४३ पुगेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्ने भएकाले बहुमत सांसदको समर्थन जुटेको दाबी गरिएको छ।

एमालेले संसदीय दलको निर्णयअनुसार संस्थागत रूपमा रिट दायर गरेको भए पनि कांग्रेसको रिट भने व्यक्तिगत हस्ताक्षरका आधारमा दर्ता गरिएको हो।

बहुमत सांसदले माग गरेपछि प्रतिनिधिसभा पुनर्स्थापना गर्न सर्वोच्च अदालतलाई निर्णय गर्न सहज हुने कांग्रेस–एमालेको बुझाइ छ। सर्वोच्चलाई फैसला गर्न आधार मिलोस् भन्ने उद्देश्यले बहुमत सांसदको हस्ताक्षर बुझाइएको उनीहरूको भनाइ छ।

रिटमा गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरिएको प्रक्रिया असंवैधानिक भएको दाबी गर्दै उक्त नियुक्ति खारेज गरी संसद्भित्रैबाट प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउन परमादेशको माग गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै