९ पौष, काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सरकारले राजनीतिक दलहरूसँगको संवाद र ‘कार्यालय अनुगमन’लाई तीव्रता दिएको छ। निर्वाचनको वातावरण सुनिश्चित गर्न गठित उच्चस्तरीय सरकारी टोलीले आज तीन प्रमुख दलका कार्यालय पुगेर नेताहरूसँग छलफल गर्ने तालिका रहेको छ।
सरकारद्वारा गठित समितिको टोली आज बिहान ११ बजेदेखि नै सक्रिय हुनेछ। बिहान ११ बजे जनमत पार्टीको केन्द्रीय कार्यालय, दिउँसो १ बजे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यालय र दिउँसो ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा कार्यालय पुगेर नेताहरूसँग छलफल गर्ने तालिका रहेको छ।
सरकारी टोलीले यी दलका कार्यालयहरूको अवस्था अनुगमन गर्नुका साथै आसन्न निर्वाचनका चुनौती र सहकार्यका विषयमा शीर्ष नेताहरूसँग प्रत्यक्ष संवाद गर्नेछ।
निर्वाचनको वातावरण बनाउन सरकारले उद्योग, पर्यटन तथा कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा शक्तिशाली समिति गठन गरेको छ। समितिमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन्। यसअघि मंगलबार मात्रै यो टोलीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को कार्यालय पुगेर छलफल गरिसकेको छ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले यो कदम निर्वाचनप्रति सरकारको इमानदारिता प्रदर्शन गर्ने माध्यम भएको बताएका छन्। उनले भने, “निर्वाचनको माहोल बनाउन सरकारले चरणबद्ध वार्तालाई निरन्तरता दिएको छ। हामी दलहरूकै कार्यस्थलमा पुगेर संवाद गरिरहेका छौँ, जसले गर्दा सरकार निर्वाचन गराउन दृढ छ भन्ने सन्देश पनि जान्छ र दलहरूलाई तयारीका लागि सकारात्मक दबाब पनि पुग्छ।”
फागुन २१ गते हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था, कानुनी प्रक्रिया र राजनीतिक सहमतिको खोजीमा सरकार जुटेको छ। संसद्मा रहेका साना तथा ठूला सबै दलहरूलाई निर्वाचन प्रक्रियामा सक्रियतापूर्वक सहभागी गराउन सरकारले यो ‘डोर-टु-डोर’ संवादको रणनीति अपनाएको बुझिएको छ।
बाक्लो कुहिरो र प्रतिकूल मौसमका बाबजुद राजनीतिक वृत्तमा भने निर्वाचनको सरगर्मी बढ्न थालेको छ। सरकारी टोलीको यो सक्रियतालाई राजनीतिक विश्लेषकहरूले निर्वाचन सुनिश्चित गर्ने महत्वपूर्ण खुड्किलोका रूपमा हेरेका छन्।















