९ पौष, काठमाडौँ । राहदानी विभागले अब आवेदन दिएको दुई दिनभित्रै राहदानी उपलब्ध गराउने भएको छ। विभागका अनुसार कूल ३ लाख ९६ हजार थान राहदानी छपाइ भई आपूर्ति भइसकेको छ र अत्यावश्यक परेकालाई तत्काल राहदानी उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।
राहदानी विभागले यसअघि अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय गरेको थियो। आवश्यक मात्रामा राहदानी पुस्तिका आपूर्ति भएसँगै विभागले पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण प्रक्रिया अघि बढाएको जनाएको छ।
विभागका अनुसार अब जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएका सेवाग्राहीलाई सहज रूपमा राहदानी वितरण गरिनेछ।
गएको मङ्सिर १५ गतेसम्म आवेदन दिएका सेवाग्राहीलाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइने विभागले जनाएको छ। त्यसपछि आवेदन दिनेहरूलाई क्रमशः राहदानी उपलब्ध गराइनेछ।
राहदानी पुस्तिकाको अभावका कारण पछिल्लो समय सेवा प्रवाहमा देखिएको समस्या अब समाधान भएको विभागको दाबी छ। अन्तरिम अवधिका लागि पर्याप्त राहदानी पुस्तिका उपलब्ध भएसँगै सेवाग्राहीले छिटो, सहज र नियमित रूपमा राहदानी प्राप्त गर्न सक्ने विभागले जनाएको छ।















