Logo

९ पौष, काठमाडौं । टर्कीको वैदेशिक भ्रमणमा रहनुभएका लिबियाली सेनाका चिफ अफ जनरल स्टाफ लेफ्टिनेन्ट जनरल मोहम्मद अल–हद्दाद सम्मिलित विमान दुर्घटनामा परेको छ ।

अंकारा नजिकै भएको सो भीषण दुर्घटनामा सेना प्रमुख हद्दादसहित विमानमा सवार सबै आठजनाको घटनास्थलमै मृत्यु भएको छ । टर्कीका गृहमन्त्री अली येरलिकायाका अनुसार ‘फाल्कन–५०’ विमान अंकाराको एसनबोगा विमानस्थलबाट उडेको ३० मिनेटमै प्राविधिक समस्या आएर दुर्घटनाग्रस्त भएको हो । विमानको भग्नावशेष अंकाराबाट करिब ७० किलोमिटर दक्षिणमा पर्ने हायमाना क्षेत्रमा छरपस्ट अवस्थामा फेला परेको छ ।

लिबियाको उच्चस्तरीय सैन्य प्रतिनिधिमण्डल टर्कीसँग रक्षा सहयोग सुदृढ बनाउने विषयमा महत्त्वपूर्ण वार्ता सकेर स्वदेश फर्कने क्रममा यो बज्रपात भएको हो । दुर्घटनामा लिबियाका स्थलसेना प्रमुख जनरल अल–फितुरी घ्रैबिल, ब्रिगेडियर जनरल महमूद अल–कतावी, चिफ अफ स्टाफका सल्लाहकार मोहम्मद अल–असावी दियाब र सैन्य फोटोग्राफर मोहम्मद ओमर अहमद महजुबले ज्यान गुमाएका छन्। विमानमा सवार चालक दलका तीन सदस्यको पनि मृत्यु भएको छ । लिबियाका प्रधानमन्त्री अब्दुल–हामिद दबैबाले एक शोक विज्ञप्ति जारी गर्दै जनरल अल–हद्दादको निधनले देशलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

प्रत्यक्षदर्शीहरूले मध्यरातमा आकाशमा ठूलो विस्फोटको आवाजसँगै चम्किलो उज्यालो देखिएको बताएका छन् । स्थानीय बासिन्दा बुरहान चिचेकले बम विष्फोट भएजस्तो भीषण आवाज सुनेको जानकारी दिएका छन् । विमानले दुर्घटना हुनुअघि आपतकालीन अवतरण (इमर्जेन्सी ल्यान्डिङ) को संकेत पठाए पनि प्राविधिक गडबडीका कारण पाइलटले विमान नियन्त्रणमा लिन नसकेको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनालगत्तै अंकारा विमानस्थललाई अस्थायी रूपमा बन्द गरी अन्य उडानहरूलाई डाइभर्ट गरिएको थियो ।

सन् २०२० देखि लिबियाली सेनाको कमान्ड सम्हालिरहनुभएका जनरल हद्दादको निधनले राजनीतिक संकट र आन्तरिक द्वन्द्वसँग जुधिरहेको लिबियामा थप चुनौती थपिने देखिएको छ । टर्कीको न्याय मन्त्रालयले घटनाको विस्तृत छानबिनका लागि चार सदस्यीय टोली गठन गरेको छ भने लिबिया सरकारले पनि आफ्नो विशेषज्ञ टोली अंकारा पठाउने निर्णय गरेको छ । सन् २०११ मा मुअम्मद गद्दाफीको पतनपछि अस्थिरताबाट गुज्रिरहेको लिबियाका लागि यो हवाई दुर्घटना एक गम्भीर सैन्य क्षति सावित भएको छ ।


सम्बन्धित समाचार
भर्खरै