Logo

९ पौष, काठमाडौं । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयातमा उल्लेख्य वृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै यस नाका हुँदै ७२ अर्ब २८ करोड रुपैयाँ बराबरको इन्धन नेपाल भित्रिएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार इन्धनको आयात बढेसँगै राज्यको ढुकुटीमा संकलन हुने राजस्वमा पनि सुधार आएको छ । समीक्षा अवधिमा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३० अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा राजस्व संकलन ६ दशमलव ४२ प्रतिशत अर्थात् १ अर्ब ८३ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्षको पाँच महिनामा ६९ अर्ब १५ करोड मूल्यको इन्धन आयात भएकोमा यस वर्ष आयातको परिमाण र मूल्य दुवै बढेको भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले जानकारी दिनुभएको छ । वीरगञ्ज नाकाबाट हुने आयातको यो तथ्याङ्कले मुलुकको ऊर्जा खपतको बढ्दो अवस्था र राजस्वमा पेट्रोलियम क्षेत्रको बलियो योगदानलाई पुनः पुष्टि गरेको छ ।

आयातित इन्धनको वर्गीकरण अनुसार सबैभन्दा ठूलो हिस्सा डिजेलले ओगटेको छ । पाँच महिनामा ३५ अर्ब ३१ करोड मूल्यको डिजेल आयात हुँदा १७ अर्ब ३६ करोडको पेट्रोल र १२ अर्ब १७ करोड रुपैयाँको खाना पकाउने ग्यास (एलपी ग्यास) भित्रिएको छ। त्यसैगरी, हवाई इन्धन (एटीएफ) सात अर्ब २५ करोड र १९ करोड रुपैयाँको मट्टितेल आयात भएको भन्सारको तथ्याङ्क छ । विकास निर्माणका काम र सवारीसाधनको बढ्दो चापका कारण पनि पेट्रोलियम पदार्थको मागमा वृद्धि भएको विश्लेषण गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै