Logo

९ पौष, काठमाडौं । राजधानीको राजनीतिक केन्द्रविन्दु मानिने माइतीघर मण्डला प्रशासनको अनुमतिबिनै पुनः आन्दोलनको रापतापले तातिएको छ ।

जेनजी युवा अगुवा मिराज ढुंगानाको नेतृत्वमा सुरु भएको संयुक्त जेनजी आन्दोलन बुधबार तेस्रो दिन पनि जारी रहँदा माइतीघर क्षेत्र तनावपूर्ण बनेको छ । वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको सरकारले युवा पुस्ताको भावना र अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामालाई मुख्य एजेन्डा बनाएका छन् ।

स्थानीय प्रशासनले प्रदर्शनका लागि अनुमति नदिए पनि निषेधित क्षेत्र तोड्दै युवाहरू सडकमा उत्रिएपछि सुरक्षाकर्मी र आन्दोलनकारीबीच पटक–पटक घम्साघम्सी परिरहेको छ। आन्दोलनको अग्रपङ्क्तिमा रहेका युवा अगुवा हरिश भट्टका अनुसार प्रहरीले विगत दुई दिनदेखि शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्ने प्रयास गरिरहेको छ। पहिलो दिन सोमबार प्रहरीले दुई दर्जनभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो भने मंगलबार ८ प्रदर्शनकारीले प्रहरीलाई फूल दिएर गान्धीवादी शैलीमा विरोध सुरु गरे तापनि दिउँसो प्रहरीले लाठीचार्ज गरेपछि स्थिति नियन्त्रणबाहिर गएको थियो ।

प्रशासनले सडक खाली गराउन बल प्रयोग गरिरहेको भए पनि जेनजीका मागहरू पूरा नभएसम्म पछि नहट्ने अडान युवाहरूले राखेका छन्, जसले गर्दा माइतीघरमा सुरक्षा सतर्कता निकै बढाइएको छ। आन्दोलित जेनजी पुस्ताले केवल सरकारको फेरबदल मात्र नभई राज्य संरचनामै आमूल परिवर्तनको माग अघि सारेका छन् । उनीहरूले वर्तमान संविधानको पुनर्लेखन हुनुपर्ने र सबै पक्षलाई समेटेर सर्वपक्षीय सरकार गठन गरी मुलुकलाई राजनीतिक निकास दिनुपर्ने जिकिर गरेका छन् ।

साविकका राजनीतिक दलहरू र तिनको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सडकमा ओर्लिएका यी युवाहरूको आन्दोलनले सरकारलाई गम्भीर दबाब दिएको छ। प्रशासनले अनुमति नदिएको भन्दै आन्दोलन रोक्न खोजे पनि हरेक दिन नयाँ(नयाँ युवाहरूको सहभागिता थपिँदै जानुले आन्दोलन थप लम्बिन सक्ने सङ्केत गरेको छ ।


सम्बन्धित समाचार
भर्खरै