९ पौष, काठमाडौं । ललितपुरस्थित नख्खु कारागार तोडफोड गरी फरार भएका र ठमेलमा एक युवकको बीभत्स हत्या गरेका खतरनाक कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको छ ।
गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा सिर्जना भएको अराजकताको फाइदा उठाउँदै कारागारबाट भागेका मगरले काठमाडौंको ठमेलमा असोज १३ गते अर्को जघन्य अपराध गरेका थिए । नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतका अनुसार लामो समयको खोजतलासपछि उनलाई रोल्पामा लुकेर बसेको स्थानबाट नियन्त्रणमा लिई थप कानुनी कारबाहीका लागि काठमाडौं ल्याइएको छ ।
लुटपाट र डकैतीको कसुरमा सजाय भुक्तान गरिरहेका मगरले कारागारबाट फरार भएको केही समयमै मनमैजु बस्ने २५ वर्षीय तामाङ थरका युवकमाथि खुकुरी प्रहार गरेका थिए । ठमेलको एक होटल नजिकै भएको सो आक्रमणमा गम्भीर घाइते भएका तामाङलाई तत्काल वीर अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले यो हत्याको पछाडि पुरानो रिसइबी मुख्य कारण रहेको देखाएको छ । कारागारको पर्खाल नाघेर बाहिर निस्किएका मगरले योजनाबद्ध रूपमै तामाङलाई निसानामा पारेको प्रहरीको दाबी छ ।
हत्यापछि फरार रहेका मगरलाई पक्राउ गर्न प्रहरीले अत्याधुनिक प्रविधिको सहारा लिएको थियो । घटनास्थल वरपरको सीसीटीभी फुटेज, प्राविधिक विश्लेषण र ‘म्यानुअल’ सुराकीका आधारमा उनको सुराक रोल्पामा फेला परेको हो । कारागारबाट भागेर समाजमा त्रास फैलाउने यस्ता अपराधी पक्राउ परेसँगै उपत्यकाको सुरक्षा व्यवस्था र फरार कैदीहरूको खोजतलास अभियानमा थप सफलता मिलेको प्रहरीले जनाएको छ ।















