९ पुस, वीरगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पर्साका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ। राप्रपाको क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फ १६ जनाको नाम सिफारिस गर्दा वरिष्ठ कलाकार नन्दु श्रीवास्तव र पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्र मुख्य आकर्षणका रूपमा देखिएका छन्।
पर्सा क्षेत्र नम्बर १ बाट ५ जनाको नाम सिफारिस गरिएको छ, जसमा कलाकार नन्दु श्रीवास्तवसँगै निवर्तमान सांसद विना जैसवाल, शान्ति खड्का, किरणमान डंगोल र विपिन चौरसिया रहेका छन्।
यस्तै, क्षेत्र नम्बर २ मा पनि कलाकार श्रीवास्तवको नाम सिफारिस भएको छ। सो क्षेत्रबाट उनीसँगै विना जैसवाल र अवधकिशोर प्रसादको नाम केन्द्रमा पठाइएको छ।
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीका वरिष्ठ नेता रविन्द्र मिश्रसहित ७ जनाको नाम सिफारिस भएको छ। जसमा अंगद ठाकुर, नगीना यादव, नरेन्द्रप्रसाद चौरसिया, सुजित त्रिपाठी, चन्द्रिका सहनी र दिपेश साह रहेका छन्।
उता, निर्वाचन क्षेत्र नम्बर ४ बाट भने शान्तकुमार जोशीको नाम एकल रूपमा सिफारिस गरिएको राप्रपाले जनाएको छ।
राजनीतिकर्मीका साथै कलाकार र बौद्धिक व्यक्तित्वहरूलाई चुनावी मैदानमा उतार्ने राप्रपाको यो तयारीले पर्साको चुनावी सरगर्मी बढाएको छ। अब केन्द्रले यी नामहरूमध्येबाट अन्तिम उम्मेदवारको टुंगो लगाउनेछ।















