१० पौष, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका-४ सुहपुर-सोहरीमा बुधबारदेखि सामुदायिक स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। नयाँ स्वास्थ्य सेवा इकाई सुरु भएसँगै स्थानीय बासिन्दाले उपचारका लागि गाउँपालिका केन्द्र जगरनाथपुरसम्म धाउनुपर्ने बाध्यता हटेको छ।
यसअघि स्वास्थ्य सेवा जगरनाथपुरमै सीमित हुँदा सुहपुर, सोहरी र हरपुर क्षेत्रका करिब दुई हजारभन्दा बढी बासिन्दा सामान्य उपचारका लागि समेत टाढा जान बाध्य थिए। अब भने गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने भएपछि स्थानीयवासीले ठूलो राहत महसुस गरेका छन्।
गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको पहलमा नयाँ कार्यालय भवन निर्माण गरी सेवा सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले जानकारी दिए। उनका अनुसार ग्रामीण भेगका नागरिकलाई सहज, सुलभ र समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले इकाई सञ्चालनमा ल्याइएको हो।
सामुदायिक स्वास्थ्य सेवा इकाईको उद्घाटन पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा पर्सा क्षेत्र नम्बर ४ का निवर्तमान सांसद रमेश रिजालले गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री रिजालले गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध हुनु सुखद उपलब्धि भएको उल्लेख गर्दै स्थानीय बासिन्दालाई विश्वासका साथ सेवा लिन आग्रह गरे।
कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष यादव, उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडा नम्बर ४ का अध्यक्ष प्रभुनाथ नुनियासहित अन्य जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
नयाँ स्वास्थ्य सेवा इकाई सञ्चालनसँगै स्थानीय बासिन्दाले समयमै उपचार पाउने, खर्च र समयको बचत हुने तथा ग्रामीण क्षेत्रको स्वास्थ्य सेवा प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ।















