Logo

१० पौष, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग शक्ति बाँडफाँट र संरचनागत कुरा मिल्न नसकेपछि आफ्नै पार्टी ‘देश विकास पार्टी’ अगाडि बढाउने तयारी गरेका छन्।

शुक्रबारसम्म भएको लामो वार्ता र छलफलमा रास्वपासँग मिल्ने सम्भावना न्यून देखिएपछि बालेनले निकटस्थहरूलाई आफूले लौरो चुनाव चिह्न लिएर दर्ता भएको देश विकास पार्टीको नेतृत्व सम्हाल्ने बताएका छन्।

बालेन–रविबीचको छलफल सोमबार राति ६ घण्टा चलेको थियो। बालेनले पार्टी संरचना, शक्ति बाँडफाँट र आफ्नो उपस्थिति सुनिश्चित गर्न चाहेका थिए, तर रवि लामिछानेले सकारात्मक जवाफ नदिँदा बालेन बिच्किएको र आफ्नै पार्टी अगाडि बढाउने निष्कर्षमा पुगेका हुन्।

बालेनका अनुसार, रास्वपाले आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सुनिश्चितता दिनुपर्छ, अन्यथा आफ्नै पार्टीबाट समानुपातिक उम्मेदवार तयार पार्ने काम अघि बढाइरहेका छन्। उनले भने, “हाम्रो पार्टीबाट अगाडि बढ्ने तयारी भइरहेको छ। रास्वपाको च्याप्टर क्लोज नगरौँ, मिल्न सक्ने अवसर आए पनि मिलेर जाने तयारी छ।”

देश विकास पार्टीको नेतृत्व अहिले बालेन शाह स्वयं सम्हाल्ने तयारीमा छन्। उनले भगवान कोइराला, सम्भव सिरोहिया, विनोद चौधरी, ज्ञानेन्द्र शाही, रेशम चौधरी लगायत सय बढी व्यक्ति संग व्यक्तिगत तथा सामूहिक छलफल समेत गरिसकेका छन्।

बालेनले आफ्नो राजनीतिक निर्णय संविधान र सुशासनमा आधारित हुने स्पष्ट पार्दै, प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणालीमा असन्तुष्टि जनाएका छन्। उनका अनुसार रास्वपा भित्र एक व्यक्तिलाई असीम अधिकार दिने प्रस्तावले देशको भूराजनीति प्रभावित हुन सक्छ।

देश विकास पार्टीका केन्द्रीय सदस्य विनोद बजगाईंले भने, “बालेन शाह पार्टीमा सक्रिय भएपछि आवश्यक जिम्मेवारी दिने विषयमा छलफल भइरहेको छ। उहाँको सहभागिताले पार्टीलाई बलियो बनाउनेछ।”


सम्बन्धित समाचार