Logo

१० पुष, काठमाडौं । नेपालमा बढ्दो विद्युत् उत्पादनलाई व्यवस्थापन गर्दै नयाँ आर्थिक अवसर सिर्जना गर्न बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदलले सरकार र राष्ट्र बैंकलाई ‘क्रिप्टो माइनिङ’ को सम्भाव्यता अध्ययन गर्न सुझाव दिएको छ ।

डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले राष्ट्र बैंकलाई बुझाएको १३० पृष्ठ लामो विस्तृत प्रतिवेदनमा नेपालले हाल अवलम्बन गरेको प्रतिबन्धात्मक नीतिलाई पुनरावलोकन गर्नुपर्ने उल्लेख छ । प्रतिवेदनले विशेष गरी नेपालमा पर्याप्त विद्युत् उत्पादन हुन थालेको वर्तमान अवस्थामा, उक्त ऊर्जालाई क्रिप्टो माइनिङमा प्रयोग गरी विदेशी मुद्रा आर्जन र आर्थिक वृद्धि हासिल गर्न सकिनेतर्फ संकेत गरेको छ ।

छिमेकी मुलुकहरू भुटान, भारत र पाकिस्तानले क्रिप्टो क्षेत्रमा पछिल्लो समय ठूलो फड्को मारिरहँदा नेपालले भने विदेशी मुद्रा सञ्चिति बाहिरिने डरले यसमा पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ । भुटानले बिटक्वाइन माइनिङमार्फत करोडौँ डलर नाफा आर्जन गरिसकेको र पाकिस्तानले छुट्टै ‘क्रिप्टो काउन्सिल’ गठन गरी काम गरिरहेको विश्वव्यापी परिवेशलाई कार्यदलले उदाहरणका रूपमा प्रस्तुत गरेको छ । नेपाल राष्ट्र बैंकले प्रविधिमैत्री र नवप्रवर्तनकारी (इनोभेटिभ) बनेर नियमनका पाटाहरू पहिल्याउनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ। नियमन गर्न कठिन हुने बहानामा सम्भावनाका ढोका बन्द गर्नुभन्दा यसका लाभ र हानिबारे गहन अनुसन्धान गरी उपयुक्त कानुनी ढाँचा तयार पार्न ढिला भइसकेको कार्यदलको निष्कर्ष छ ।

विद्युत् प्राधिकरणले खपत बढाउन नयाँ क्षेत्रहरू खोजिरहेको सन्दर्भमा क्रिप्टो माइनिङ एक भरपर्दो विकल्प हुन सक्ने देखिएको छ। बैंकिङ्ग समाचारले यसअघि नै आफ्नो विशेष श्रृङ्खलामार्फत क्रिप्टोका सम्भावना र जोखिमबारे उजागर गर्दै आएको थियो, जसलाई कार्यदलको यो सुझाव सम्बोधन गरेको देखिन्छ ।

नेपालले अब विदेशी मुद्रा बाहिरिने डर मात्र पाल्नेभन्दा पनि प्रविधिलाई आत्मसात् गर्दै कसरी मुलुकभित्रै आर्थिक उपार्जन बढाउन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्ने देखिन्छ । यस अध्ययनले मूर्त रूप पाएमा नेपालको बैंकिङ्ग र ऊर्जा दुवै क्षेत्रमा दीर्घकालीन प्रभाव पर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै