Logo

१० पुष, काठमाडौं । बंगलादेशको राजनीतिमा दशकौँदेखि प्रभावशाली रहँदै आएकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तथा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमान १७ वर्ष लामो निर्वासन अन्त्य गर्दै स्वदेश फर्किएका छन् ।

सन् २००८ मा तत्कालीन शेख हसिना नेतृत्वको सरकारले लगाएका भ्रष्टाचारका मुद्दा र गिरफ्तारीको जोखिमका कारण लन्डन पलायन भएका रहमानको फिर्तीलाई बंगलादेशमा ठूलो राजनीतिक परिवर्तनको सङ्केतका रूपमा हेरिएको छ। ढाका विमानस्थलमा उनलाई स्वागत गर्न ओर्लिएको करिब एक लाखभन्दा बढी समर्थकहरूको विशाल जनसागरले रहमानको लोकप्रियता र आगामी निर्वाचनमा उनको पार्टीको बलियो उपस्थितिलाई स्पष्ट पारेको छ ।

शेख हसिना सरकारको पतनसँगै विकसित भएको नयाँ राजनीतिक समीकरणमा रहमान अबको सत्ता नेतृत्वको मुख्य दाबेदारका रूपमा उभिएका छन्। सन् २०२६ फेब्रुअरी १२ मा हुने तय भएको आम निर्वाचनमा हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लागेकाले बीएनपीका लागि सत्ताको बाटो सहज देखिएको छ । पार्टी अध्यक्ष खालिदा जिया ८० वर्षको उमेरमा गम्भीर बिरामी भई उपचाररत रहेकाले पनि भावी प्रधानमन्त्रीका रूपमा तारिक रहमानको विकल्प नभएको विश्लेषण गर्न थालिएको छ । केही समयअघि अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले लन्डनमै पुगेर रहमानसँग गरेको भेटलाई पनि उनी भावी नेतृत्वको हकदार भएको बलियो आधारका रूपमा लिइएको छ ।

यद्यपि, अवामी लिग चुनावी मैदानमा नहुँदा पनि रहमानका लागि आगामी यात्रा पूर्ण रूपमा चुनौतीमुक्त भने देखिँदैन । हसिना विरुद्धको आन्दोलनमा अग्रमोर्चामा रहेका युवाहरूले गठन गरेको नेसनल सिटिजन पार्टी (एनसीप) र जमात–ए–इस्लामीको विद्यार्थी संगठनसँग जोडिएका शक्तिहरू उनको मुख्य चुनौतीका रूपमा देखा परेका छन् । स्वदेश फर्किएलगत्तै रहमानले आगामी निर्वाचनलाई बंगलादेशको इतिहासकै जटिल र महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गर्दै नयाँ राजनीतिक निकासका लागि तयार रहन कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै