१० पुष, काठमाडौं । मुलुकको जेठो र ठूलो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ५१औँ दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित विशेष समारोहमा विभिन्न संकायका स्नातक, स्नातकोत्तर, दर्शनाचार्य (एमफिल) र विद्यावारिधि (पीएचडी) तह पूरा गरेका १६ हजार ३०० भन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा दीक्षित भएका छन् ।
विश्वविद्यालयको इतिहासमा यस पटकको समारोह विशेष ऐतिहासिक बनेको छ, जहाँ प्रमुख अतिथिका रूपमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता उपस्थित भई दीक्षित विद्यार्थीहरूलाई प्रेरित गर्नुभएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्कीले विद्यार्थीहरूलाई दीक्षित भएको घोषणा गर्दै उनीहरूको शैक्षिक सफलताको कामना गर्नुभयो ।
विश्वविद्यालयको तथ्याङ्कअनुसार यस वर्ष स्नातकदेखि विद्यावारिधिसम्म गरी कुल ८९ हजार १०१ विद्यार्थीहरू दीक्षित हुन योग्य (उत्तीर्ण) भएका छन्। समारोहमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन लगायत शैक्षिक र प्राज्ञिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्दै उपकुलपति प्रा.दीपक अर्यालले त्रिभुवन विश्वविद्यालय पछिल्लो समय क्रमिक रूपमा सुधार र रूपान्तरणको बाटोमा अघि बढिरहेको दाबी गर्नुभयो । उहाँले विश्वविद्यालयले गुणस्तरीय शिक्षा र अनुसन्धानमा जोड दिँदै विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा केन्द्रित रहेको समेत उल्लेख गर्नुभयो ।
रङ्गशालाको खुल्ला आकाशमुनि गाउन र क्यापमा सजिएका हजारौँ विद्यार्थीहरूको उपस्थितिले समारोहलाई उत्सवमय बनाएको थियो । समारोहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई विभिन्न पदक र पुरस्कारबाट समेत सम्मानित गरिएको छ । मुलुकको राजनीतिक अस्थिरता र शैक्षिक क्यालेन्डरको चुनौतीका बीच पनि विश्वविद्यालयले समयमै दीक्षान्त समारोह आयोजना गर्नुलाई सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ । दीक्षित युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नुपर्ने चुनौती सरकारसामु रहेको सहभागी शिक्षाविद्हरूले औँल्याएका छन् ।















