१० पुष, वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध नाईट्राभेट ट्याब्लेट बरामद गरेको छ। बिहीबार बिहान इनर्वास्थित एक पोखरीको डिलमा बेवारिसे अवस्थामा छाडिएको बोराबाट ११ हजार ६८ पिस नाईट्राभेट ट्याब्लेट बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म हेड क्वटर वीरगन्जबाट खटिएको गस्ती टोलीले शंकास्पद अवस्थामा रहेको प्लाष्टिकको बोरा फेला पारेको थियो। उक्त बोरा खोलेर खानतलासी गर्दा ७ सय ३८ पत्तामा प्याक गरिएको अवस्थामा ठूलो परिमाणको नाईट्राभेट ट्याब्लेट फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक (DSP) विश्वराज योञ्जनले जानकारी दिए।
सशस्त्र प्रहरीको अनुमान अनुसार भारतबाट अवैध रूपमा तस्करहरूले उक्त लागू औषध नेपाल भित्र्याउने कोसिस गरेका थिए। तर, गस्तीमा रहेका सुरक्षाकर्मीलाई देखेपछि तस्करहरूले बोरा पोखरीको डिलमै फालेर फरार भएको हुनसक्ने प्रहरीको भनाइ छ।
बरामद गरिएको उक्त नाईट्राभेट ट्याब्लेटलाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि प्रहरी चौकी इनर्वामा बुझाइएको डीएसपी योञ्जनले बताए। पछिल्लो समय सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले लागू औषध ओसारपसार र तस्करी नियन्त्रणमा सक्रियता बढाएको छ।















