Logo

१२ असोज, वीरगन्ज । आज बडादशैँ अर्थात नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै छ ।बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि ९ दिनसम्म दुर्गा भवानीका विभिन्न ९ वटा फरक –फरक रूपहरूको पूजा गर्ने परम्परा चलिआएको छ । चन्द्रघण्टादेवीको रूप स्वर्णमय, शान्त र सौम्य भएको हिन्दू धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ ।शिरमा घण्टा आकारको चन्द्रमा भएकाले ती देवीको नाम चन्द्रघण्टा रहन पुगेको धार्मिक मान्यता छ ।

सिंहमाथि बसेकी चन्द्रघण्टा देवीको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुष लगायत शस्त्र अस्त्र छन् ।बडादशैँमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । बडादशैँ प्रारम्भ भएसँगै विधिपूर्वक दुर्गा भवानीको विभिन्न स्वरूपको पूजा गरेमा आफ्नो मनोकांक्षा पूरा हुने मान्यता छ ।

दुःख कष्टबाट मोक्ष पाउनका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर देवी चन्द्रघण्टाको पूजा गरेमा उनी खुशी भई आशिर्वाद प्राप्त हुने जनविश्वास रहेको छ । देवी चन्द्रघण्टाको घन्टको ध्वनिबाट भूत, प्रेत र विभिन्न बाधा भागेर जानेछन् र अत्याचारी दानव तथा दैत्य डराउँछन् भन्ने धार्मिक विश्वास रहेको छ ।नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं पाठ गरिन्छ ।

घटस्थापनाका दिन राखिएको जमरा दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै लगाउने गरिन्छ ।बडादशैँको तेस्रो दिन देशैभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गरेको छ ।

वीरगञ्जमा यसपालिको चहलपहल र मेलाको धूमधडाका बढेको देखिएको छ । वीरगञ्जको घण्टाघरस्थित बिपी उद्यानमा रमाइलो दशैं मेला शुरू भइसकेको छ भने वीरगञ्जका शक्तिपीठहरू गहवामाई मन्दिर, अलखिया मन्दिर, गीता मन्दिर, महावीर मन्दिर, बिर्तामाई मन्दिर, काली मन्दिर, रानीघाटको कुमारी माई मन्दिर लगायतमा दर्शन गर्ने श्रद्धालुहरुको भीडभाड देखिएको छ ।


सम्बन्धित समाचार