Logo

११ पौष, काठमाडौं । गैरकानुनी रुपमा नेपाली कामदार भिसा मार्फत युरोप पठाउने नाममा लाखौं रकम ठगी गर्ने गिरोहको रहस्य खुलेको छ । दक्षिण भारतको केरेलाका जिमजो जोसेप नामका मानव तस्करले नेपालमै अड्डा जमाएर निर्वाध रुपमै पेशेवार शैलिमा नेपालीहरुलाई ठगी गरिरहेका हुन।

मेनपावर कम्पनीको आडमा हुने गरेको मानव तस्करीका लागि जोसेपले नेपालका प्रमुख शहरमा आफ्नो नेटवर्क विस्तार गरेको पाईएको छ। राज्यका निकायलाई झुक्काएर हुने मानव तस्करीमा हजारौ नेपालीको जीवन समेत जोखिममा पर्ने गरेको छ ।

कसरी ठगिदैछन् नेपालीहरु ?

नेपालबाट वर्षमा युरोपका केहि देशहरुमा प्रकृया पुरा गरि सिमित नेपाली कामदार मात्रै जान पाउने व्यवस्था छ। त्यसका लागि जान चाहने कामदारसंग म्यानपावर कम्पनी आफैले काम, पारिश्रमिक र अन्य सेवा सुविधा बारे सम्झौता गरि श्रम स्वीकृती लिएर पठाउनुपर्नेछ। यसो गर्दा म्यानपावर कम्पनी जवाफदेही हुनुपर्छ।

तर यो गिरोहले कामदारलाई गैरकानुनी रुपमा व्यक्तिगत श्रम गर्न लगाई सेटिङ्ग मार्फत दिल्लिबाट युरोपको स्लोभाकिया पठाउदै आएको खुलेको छ।
यसरी व्यक्तिगत श्रम गरि गएकाहरुका सवालमा भविष्यमा हुने कुनै पनि जोखिममा म्यानपावर कम्पनी जिम्मेवार हुदैन। हुन सक्ने कानुनी झमेलाबाट यो गिरोह पहिल्यै सचेत भएको देखिन्छ।

१४ लाख देखी १८ लाखसम्म असुल्दै

जिम्जो जोसेपको मानव तस्करी समुहले स्लोभाकिया पठाउने नाममा नेपालीहरुबाट प्रति व्यक्ति न्युनतम १४ लाख देखी १८ लाखसम्म असुल्दै आएका छन्।
जोसेपले स्लोभाकियाको वर्क कन्ट्रोल एजेन्सीका लागि दिल्ली स्थित स्लोभाकिया एम्बेसीको सेटिङ्ममा खुलेआम मानव तस्करी गर्दै आएका हुन।

नेपालबाट उडान गर्दा समस्या हुने भएकाले यो गिरोहले भारतको दिल्लीबाट पठाउने गरेको छ। दिल्लीको बाटो हुदै उड्न गएका नेपाली कामदार ३ देखी ५ महिनासम्म दिल्लीकै होटलमा अलपत्र पर्दै आएका छन्। जोसेप गिरोहले भनेजति रकम नदिएसम्म नेपालीहरुको पासपोर्ट उनीहरुकै कब्जामा हुने गर्दछ।

श्रोतका अनुसार जिम्जो जोसेपले स्लोभाकियामा बस्न र बायोमेटिक गर्न भन्दै भारत पुगेपछि छुट्टै ५ सय युरो असुल्ने गरेका छन्। यसरी असुलिसके पछि पनि स्लोभाकिया पुगेपछि फेरि गिरोहले तलबमा काट्ने गरेको छ।

तस्करीका विभिन्न चरण पार गरेपछि स्लोभाकिया पुगेका नेपाली कामदारले ३ देखि ६ महिनासम्म काम पाउदैनन्। उनीहरुलाई एउटै ठुलो होस्टेलमा लगेर राखिन्छ। त्यसरी बेकामी भएर बस्नुपर्दा कामदारबाट बसेको र खाएको समेत जोसेप गिरोहले फेरि असुल्ने गर्छ।

जेनतेन काममा लागेका नेपाली कामदारलाई केहि महिना काममा लगाई बिना तलब निकाल्ने गरेको समेत पिडितहरु बताउछन्। त्यसरी निकालिएका कामदारको तलब समेत जोसेप गिरोहले खाने गरेको स्रोतको भनाई छ।

कसरी हुन्छ मानव तस्करी ?

विगत १ वर्षदेखी जोसेप गिरोह काठमाडौं र चितवनमा पेशेवार रुपमा सकृय छ। काठमाडौंको त्रिपुरेश्वर स्थित ईएटिसी म्यान पावर कम्पनी, संचालक, स्लोभाकियाबाटै प्रकाश राजवंशी, जोसेपका सालो पर्ने अखिल जोशी, चितवनको भरतपुर स्थित गोल्डेन फिडर कन्सल्टेन्सी संचालक नवराज भनिने नर बहादुर क्षेत्री, भरतपुरकै आरोही हुमन रिसोर्सका संचालक राजु तिमिलसिना, वुटवलका अर्जुन सुनार लगायत म्यानपावर कम्पनीसंग जोसेप गिरोहले काम गर्दै आएको छ।

१ वर्षको अन्तरालमा यो गिरोहले झन्डै २ हजार बढी नेपालीलाई स्लोभाकिया पुराएर अलपत्र पारेको छ। मानव तस्कर जिम्जो जोसेप काठमाडौं र चितवनका होटलहरुमा महिनौसम्म बसेर यो धन्दा चलाईरहेका छन्।

के भन्छ प्रहरी ?

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीले जोसेप गिरोह बारे पहिले पनि उजुरी आएको बताउछन्। यो गिरोहबाट पिडित भएकाहरुले हामी कहाँ उजुरी लिएर आउनुभएको छ, सम्बन्धित म्यानपावर कम्पनीलाई बोलाएर समस्या समाधान पनि गराएका छौं, पुरीले भने।

देखिदा नेपाली म्यानपावर व्यवसायी देखिएका छन्, तर यो गिरोहकै अनुसन्धानमा लागेको प्रहरी प्रमुख पुरीले बताए। जोसेप गिरोह बस्ने होटल र उनको गतिविधीमा प्रहरी निगरानी राख्ने पुरीको भनाई छ।


सम्बन्धित समाचार
भर्खरै