Logo

१२ पौष, वीरगञ्ज । वीरगञ्जसहित तराईमधेसका विभिन्न जिल्लामा एकाएक चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ। आज बिहानदेखि पानी परेझैँ सीत झरिरहेको र बाक्लो कुहिरो लागिरहेकाले चहलपहल घटेको छ भने सडकमा सवारी आवागमन पनि सुस्त देखिएको छ।

कुहिरोका कारण दृश्यता अत्यन्तै कम हुँदा यात्रु, विद्यार्थी र बिहानै कामकाजमा निस्कने सर्वसाधारणलाई समस्या परेको छ। विशेषगरी दैनिक ज्यालादारी मजदुर, रिक्सा चालक तथा सरसफाइकर्मीहरू चिसोका कारण गम्भीर समस्यामा परेका छन् ।

दैनिक आम्दानीमा निर्भर श्रमिक वर्गका लागि चिसो मौसम झन् चुनौतीपूर्ण बनेको छ। काम नपाउँदा आम्दानी ठप्प भएको छ भने काम गरे पनि चिसो र ओसिलो मौसमले स्वास्थ्यमा असर पारेको उनीहरूको गुनासो छ । वीरगञ्जका रिक्सा चालक प्रेम कानुका अनुसार कुहिरो र चिसोका कारण यात्रु अत्यन्तै कम भएका छन्। “बिहानैदेखि रिक्सा लिएर निस्किए पनि यात्रु भेटिँदैनन्, चिसोले हातखुट्टा चलाउनै गाह्रो हुन्छ,” उनले बताए ।

यस्तै, निर्माण क्षेत्रमा कार्यरत मजदुरहरू खुला ठाउँमा काम गर्नुपर्ने भएकाले चिसोका कारण काममा जान नसक्ने अवस्थामा पुगेका छन्। “काम नगरे परिवार चल्दैन, तर यस्तो चिसोमा काम गर्न असाध्यै गाह्रो छ,” निर्माण कार्य गर्ने राजमिस्त्री राजकिरण पटेलले दुःखेसो पोखे ।

नगरका सरसफाइकर्मीहरू भने चिसो मौसमकै बीच बिहानैदेखि काममा खटिन बाध्य छन्। न्यानो कपडा र आवश्यक सुरक्षा सामग्रीको अभावमा जोखिम मोलेर काम गर्नुपरेको उनीहरूको भनाइ छ।

चिसो बढेसँगै वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगीहरूमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । न्यानो कपडा लगाउने, तातो खानेकुरा सेवन गर्ने र अत्यावश्यक काम बाहेक बिहानको चिसोमा बाहिर ननिस्कन सुझाव वरिष्ठ फिजिसियन डा. उदयनारायण सिंहको छ ।

मौसमविद्हरूका अनुसार तराईमधेस क्षेत्रमा अझै केही दिन कुहिरो र सीत पर्ने अवस्था कायमै रहन सक्ने देखिएकाले सडक तथा हवाई यातायातमा समेत आंशिक असर पर्न सक्नेछ।

चिसोबाट सबैभन्दा बढी प्रभावित हुने गरिब तथा विपन्न वर्गलाई लक्षित गरी स्थानीय तह र सरोकारवाला निकायले न्यानो कपडा वितरण, आगो ताप्ने व्यवस्था तथा अस्थायी राहत कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको स्थानीयवासीको माग छ ।


सम्बन्धित समाचार