१२ पौष,वीरगञ्ज । रौतहट जिल्लाको कटहरिया नगरपालिका-९ डुमरिया स्थित ज्योती डिस्टलरी प्रा.लि.मा बोइलर मेसिन विस्फोट हुँदा एक जना कामदारको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार आज बिहान करिब ८:३० बजेको समयमा डिस्टलरीमा जडान गरिएको बोइलर मेसिन अचानक पड्किँदा उक्त दुर्घटना भएको हो। विस्फोटमा परी कटहरिया नगरपालिका-८ निवासी अन्दाजी ४५ वर्षका लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ। मृतकको शव घटनास्थलमै राखी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सोही डिस्टलरीमा कार्यरत कटहरिया नगरपालिका–८ निवासी अन्दाजी ४५ वर्षका रहमोद आलम, ३५ वर्षका प्रमजित यादव, ५१ वर्षका जगदिश यादव, ५५ वर्षका बिगन यादव, ४० वर्षका कैलाश माली तथा गरुडा नगरपालिका-५ महमदपुर निवासी अन्दाजी ४० वर्षका मुकेश यादव घाइते भएका छन् । घाइतेमध्ये जगदिश यादव, बिगन यादव र मुकेश यादवको अवस्था गम्भीर रहेको र उनीहरूका हातखुट्टा डढेको रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले जानकारी दिए । घाइतेहरूको उपचार नजिकैको स्वास्थ्य संस्थामा भइरहेको छ ।
घटनापछि डिस्टलरी परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। प्रारम्भिक अनुसन्धानमा मेसिनको प्राविधिक खराबी वा लापरवाहीका कारण विस्फोट भएको हुनसक्ने आशंका गरिएको छ। प्रहरीले घटनाको विस्तृत छानबिन सुरु गरेको एसपी कार्कीले जानकारी दिए ।

यस घटनाप्रति प्रतिक्रिया दिँदै आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मिल सञ्चालकको लापरवाहीका कारण यस्तो दुःखद घटना भएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शोक व्यक्त गर्दै उनले निष्पक्ष छानबिन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरूको उपचारको सम्पूर्ण जिम्मेवारी मिल व्यवस्थापनले लिनुपर्ने माग गरेका छन् । उनले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
स्थानीय बासिन्दा तथा श्रमिक सङ्गठनहरूले औद्योगिक क्षेत्रमा सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न माग गरेका छन् ।















