Logo

१७ चैत, वीरगञ्ज । सार्वजनिक जग्गा अतिक्रमण गरेर विभिन्न व्यक्तिले निर्माण गरेका संरचना वीरगञ्ज महानगरपालिकाले हटाएको छ । महानगरको वडा नम्वर २५ ड्राइपोर्टचोक नजिकै करिब १७ कट्ठा जग्गा अतिक्रमण गरी निर्माण गरिएका पक्कि तथा कच्चि भवनहरु महानगरले डोजर लगाएर हटाएको हो ।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार गएको टोलीले अतिक्रमित जग्गामा बनेको ४ वटा पक्की भवन र १७ वटा घर टहरा डोजर लगाएर हटाएको महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिनुभयो । केही व्यक्तिले वषौँदेखि जग्गा अतिक्रमण गरेर व्यक्तिगत रुपमा प्रयोग गरिरहेको जानकारी पाए लगत्तै नक्सा सहित पुगेको महानगरको टोलीले नापजाँच गरेर सार्वजनिक जग्गा अतिक्रमित गरेर बनेका संरचना हटाएको हो ।

अतिक्रमण हटाउने क्रममा अतिक्रमणकारीहरुले अवरोध गर्न खोजे पछि जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा प्रहरी पुगेपछि अतिक्रमण सहज रुपमा हटाइएको थियो । महानगरपालिकाले ३२ वटै वडामा अतिक्रमणमा परेका सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्न भौतिक पुर्वाधार अतिक्रण खाली गर्ने समिति नै बनाएर काम अघि बढाएको छ ।

अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान चलाइएको बताउनुहुँदै महानगरप्रमुख सिंहले कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन आग्रह गर्नु भएको छ । आफूहरु सार्वजनिक जग्गा संरक्षणमा कटिबद्ध भएर लागेको भन्दै यसमा सबैको सहयोग जरुरी रहेको पनि बताउनु भयो ।

महानगरले गएको फागुनमा मात्रै वडा नम्बर १९ मा करिब १६ विघा र वडा नम्वर २४ सिर्सिया पुल नजिक २ कट्ठा १० धुर जग्गा अतिक्रमण मुक्त गराइसकेको छ । चिल्ड्रेन पार्कको अतिक्रमण हटाउने काम चलिरहेको र अन्य वडाहरुमा पनि सार्वजनिक तथा ऐलानी जग्गा खोजी कार्य अघि बढाइरहेको छ ।

हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले यस्तो खोजी अभियान अघि बढाएको महानगरप्रमुख सिंहले बताउनुभयो । महानगरप्रमुखको निर्देशनमा अतिक्रमण मुक्त गराउन प्रशासन प्रमुख राजकृष्ण ताम्राकार, नगर प्रहरी प्रमुख हरि भुषाल, प्रमुखको सचिवालयका हरि पोखरेल, प्रेस सल्लाहकार महेस दास लगायत नगरप्रहरी सहितको टोली पुगेको थियो ।


सम्बन्धित समाचार