Logo

१३ पौष,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१६ स्थित लिंक रोडमा रहेको स्वस्तिका सप्लायर्समा आज बिहान आगलागी भएको छ । आगलागीका कारण सप्लायर्सको गोदाममा रहेका हार्डवेयर सामग्री जलेर नष्ट हुँदा ठूलो धनमाल क्षति भएको अनुमान गरिएको छ ।

हिजो शनिबार भएकाले दिनभर पसल बन्द रहेको अवस्थामा आज बिहान करिब २ः१५ बजे आगलागी भएको जानकारी पाएको स्वस्तिका सप्लायर्सका सञ्चालक मनोज कुमार रौनियार ‘गुड्डु’ले बताए । उनका अनुसार छिमेकीले आगो लागेको खबर गरेपछि घटनास्थल पुग्दा पसलभित्र धुवाँ अत्यधिक भएकाले पस्नै गाह्रो अवस्था थियो ।

घटनाको जानकारी पाउनासाथ वीरगञ्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। करिब बिहान ४ बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको रौनियारले जानकारी दिए ।

आगलागीले स्वस्तिका सप्लायर्ससँगै रहेका अन्य दुई वटा पसलमा समेत आंशिक क्षति पुगेको छ। यद्यपि, यस घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा आगलागीको स्पष्ट कारण खुल्न सकेको छैन । तर विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनापछि क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको वास्तविक मूल्याङ्कन अनुसन्धानपछि मात्र यकिन हुने जनाइएको छ ।


सम्बन्धित समाचार