Logo

१३ पुष, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आइतबार ऐतिहासिक उचाइ चुम्दै नयाँ कीर्तिमान कायम गरेको छ ।

साताको पहिलो दिनमै पहेँलो धातुको भाउमा उछाल आएपछि सुनको मूल्यले पहिलो पटक २ लाख ७० हजारको मनोवैज्ञानिक सीमा पार गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ, जुन नेपाली सुन बजारको इतिहासमा हालसम्मकै उच्च बिन्दु हो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यले दैनिक जसो नयाँ रेकर्ड बनाइरहेको छ । गत शुक्रबार प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आइतबार एकैदिन १ हजार ३०० रुपैयाँले महँगिएको हो। विवाहको सिजन र लगानीकर्ताहरूको आकर्षण बढिरहेका बेला सुनको यो अस्वभाविक मूल्य वृद्धिले आम उपभोक्ता र व्यवसायीहरूलाई समेत चकित तुल्याएको छ ।

सुनसँगै चाँदीको मूल्यले पनि आज नयाँ रेकर्ड कायम गर्दै बजारलाई तताएको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा २७० रुपैयाँले बढेर ४ हजार ८३५ रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ४ हजार ५६५ रुपैयाँमा खरिद–बिक्री भएको थियो । बहुमूल्य धातुको मूल्यमा आएको यो तीव्र बढोत्तरीले बजारमा सुनचाँदीको कारोबारमा केही सुस्तता आउन सक्ने अनुमान गरिएको छ भने गहना बनाउने तयारीमा रहेका सर्वसाधारणलाई ठूलो आर्थिक भार थपिएको छ ।


सम्बन्धित समाचार