१३ पुस, काठमाडौं । पछिल्लो एक महिनादेखि नेपालमा औपचारिक रूपमा सुनको आयात शून्य छ । भन्सार विभागको तथ्यांकले मंसिर महिनामा जम्मा एक केजी मात्रै सुन आयात भएको देखाउँछ । तर, यही अवधिमा सुन बजार ठप्प भने देखिएन ।
मंसिर महिनाका बिहे–व्रतबन्धका लगनमा काठमाडौंसहित देशभरका सुनचाँदी पसलमा ग्राहकको आवतजावत घटेको थिएन । आयात रोकिए पनि बजार चलायमान रहनुले अहिले एउटा गम्भीर प्रश्न उठाएको छ— बजारमा चलिरहेको सुन कहाँबाट आइरहेको छ ?
नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्रै छ । बैंकहरूले आयात गरेको सुन व्यवसायीलाई बिक्री गर्छन् । तर, बैंकहरूले गत मंसिरयता सुन आयात नै नगरेको स्वीकारेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले बैंकहरूमा करिब १५० केजी सुन स्टकमा थन्किएको छ, जुन व्यवसायीले किन्न रुचि देखाएका छैनन् । यस्तो अवस्थामा पनि बजारमा सुनको कारोबार निरन्तर हुनुले अवैध मार्गबाट सुन भित्रिएको अनुमान गरिएको छ ।
विशेषगरी भारत र चीनसँग जोडिएका खुला तथा अर्ध–खुला नाकाबाट पछिल्लो समय काँचो सुन अवैध रूपमा भित्रिएको अनुमान व्यवसायी र सुरक्षा निकायका अधिकारीहरूको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण नेपालमा सुन लगानीको सुरक्षित माध्यमका रूपमा आकर्षक बनेको छ । यही कारणले औपचारिक प्रणालीभन्दा बाहिरको सुन कारोबार सक्रिय हुन थालेको जानकारहरू बताउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यका अनुसार मूल्य अत्यधिक बढेपछि नयाँ गहनाको माग घटे पनि बजार पूरै बन्द भने छैन । “अहिले सुनको मूल्य अत्यधिक छ । नयाँ गरगहना कम बनेका छन्, तर कारोबार शून्य छैन,” उनी भन्छन्, “ग्राहकले पुराना गहना पगालेर काम चलाइरहेका छन् । तर, बजारमा देखिएको सक्रियता हेर्दा आयात बन्दसँग मात्र मेल खाँदैन ।”
मंसिर महिना सामान्यतया सुन व्यवसायको ‘पीक सिजन’ मानिन्छ । तर, यसपालि मंसिरमै बैंकमार्फत नयाँ सुन नआए पनि पसलहरूमा सुन उपलब्ध थियो । यही बिन्दुबाट अवैध सुन कारोबारको आशंका झनै गहिरिएको छ । स्रोतहरूका अनुसार भारततर्फ सुनमा कर संरचना कडा हुँदा तस्करीमार्फत नेपाल भित्र्याएर यहाँ खपत गर्ने वा पुनः अन्यत्र पठाउने प्रवृत्ति बढ्न सक्छ ।
यद्यपि मासिक रूपमा आयात ठप्प देखिए पनि चालू आर्थिक वर्षको समग्र पाँच महिनाको तथ्यांक भने फरक तस्वीर देखाउँछ । चालू आवको पहिलो पाँच महिनामा नेपालले ९०३ केजी सुन आयात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३८५।५४ प्रतिशतले बढी हो । रकमका आधारमा १५ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको सुन आयात भएको छ, जुन ६७० प्रतिशतभन्दा बढीको वृद्धि हो । जानकारहरूका अनुसार मूल्यवृद्धिले रकमको आकार बढाए पनि पछिल्लो महिनाको आयात शून्य हुनु स्वाभाविक मान्न सकिने अवस्था छैन ।
सुनसँगै चाँदीको आयात अवस्था पनि उस्तै छ । कात्तिकपछि चाँदीको आयात प्रायः बन्द भएको छ । मंसिरमा चाँदी आयात शून्य छ । तर, चाँदीको बजार पनि पूर्ण रूपमा बन्द छैन । यसले चाँदीतर्फ पनि अवैध आपूर्तिको सम्भावनालाई बल पुर्याएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले हाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ४ हजार ५६५ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । मूल्य यति उचाइमा पुग्दा औपचारिक आयात प्रणालीभन्दा बाहिरका जोखिमपूर्ण बाटाहरू सक्रिय हुनु राज्यका लागि गम्भीर चुनौतीको संकेत हो ।
वैध मार्गबाट सुन आयात शून्य भएको, बैंकमा स्टक भएको सुन पनि बिक्री नभएको र बजारमा बिहेको लगनका कारण कारोबार भने चलिरहेको छ । अहिले नेपालमा अवैध मार्ग ९तस्करी० भएर नेपालमा सुनको कारोबार बढेको देखिन्छ ।
स्रोतका अनुसार अहिले भारत र चीनका विभिन्न नाकाबाट अवैध रूपमा काँचो सुन नेपाल भित्रिरहेको छ। अन्तर्राष्ट्रिय बजारको उच्च मूल्य र नेपालको खुला सिमानाको फाइदा उठाउँदै तस्करहरू सक्रिय भएको अनुमान छ। यदि अवैध रूपमा सुन भित्रिएको हो भने यसले एकातिर राज्यले भन्सार र राजस्व गुमाइरहेको छ भने अर्कोतिर वैध व्यवसायीहरू र बैंकहरू संकटमा परेका छन्।
एकातिर बैंकमार्फत सुन आयात रोकिएको छ, अर्कोतिर बजारमा सुनको अभाव देखिएको छैन । यो अन्तरविरोधले सुनको अवैध कारोबार, राजस्व चुहावट र नियमनको कमजोरी तर्फ गम्भीर प्रश्न खडा गरेको छ । यदि समयमै निगरानी र नियन्त्रण नगर्ने हो भने, मूल्यवृद्धिको आडमा अवैध सुन कारोबार अझ संस्थागत हुने खतरा रहेको छ ।















