Logo

१४ पुष, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिन गरिरहेको उच्चस्तरीय आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार साढे दुई घण्टा लामो बयान दिनुभएको छ ।

सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित हुनुभएका लेखकले तत्कालीन गृहमन्त्रीको हैसियतमा आफूले शान्ति सुरक्षा कायम गर्न दिएका निर्देशन र चालेका कदमहरूबारे स्पष्टीकरण दिनुभएको हो । बयानका क्रममा उहाँले आफूले सुरक्षा निकायलाई प्रदर्शनकारीमाथि बल प्रयोग नगर्न र कुनै पनि हालतमा मानवीय क्षति हुन नदिन स्पष्ट निर्देशन दिएको दाबी गर्नुभएको छ ।

आयोगसमक्ष पेश गरिएको लिखित जवाफमा लेखकले आन्दोलनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकका निर्णयहरूलाई मुख्य आधार बनाउनुभएको छ। उहाँका अनुसार उक्त बैठकमा सुरक्षा प्रमुखहरूलाई तीनवटा मुख्य निर्देशन दिइएको थियो— पहिलो, कुनै पनि व्यक्तिको ज्यान जाने स्थिति नआओस् भनी सचेत रहन्, दोस्रो, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको प्रबन्ध मिलाउन, र तेस्रो आन्दोलन नेतृत्वविहीन र गैर–राजनीतिक प्रकृतिको भएकाले घुसपैठ हुन सक्ने जोखिमप्रति सतर्क रहन ।

लेखकले आयोगमा बुझाएको पत्रमा आफूले गृहमन्त्रीका रूपमा संयम अपनाउन निर्देशन दिए पनि फिल्डको परिस्थिति र उत्पन्न जटिलताबारे सुरक्षा निकायले नै थप प्रष्ट पार्नुपर्ने संकेत गर्नुभएको छ । बयान प्रक्रिया सकेर बाहिरिने क्रममा उहाँले आफूले छानबिनमा पूर्ण सहयोग गरेको र तत्कालीन समयमा राज्यका तर्फबाट अधिकतम सतर्कता अपनाइएको दाबी गर्नुभयो ।

आयोगले लेखकको यो बयान र लिखित जवाफलाई आन्दोलनका क्रममा भएका भुलचुक र जिम्मेवारी निर्धारणका लागि महत्त्वपूर्ण प्रमाणका रूपमा लिने देखिएको छ ।

 

 

 


सम्बन्धित समाचार
भर्खरै