वीरगन्ज, १४ पुस । वीरगन्जमा सम्पन्न पाँचौँ संस्करणको ‘नेशनल इन्फोटेक अन्तरकलेज टी–२० क्रिकेट कप’ (एनआई कप) को उपाधि आयोजक नेशनल इन्फोटेक (एनआई) कलेजले जितेको छ। सोमबार नारायणी क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा ज्ञानदा एकेडेमीलाई ५ विकेटले पराजित गर्दै एनआई कलेजले उपाधिमाथि कब्जा जमाएको हो।
ज्ञानदा एकेडेमीले दिएको १३८ रनको मध्यम लक्ष्यलाई पछ्याएको नेशनल इन्फोटेकले १९.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
ब्याटिङ तर्फ: एनआई कलेजका लागि परिमार्जन यादवले सर्वाधिक ४९ रनको महत्वपूर्ण इनिङ खेले भने मोहताब आलमले ४८ रनको योगदान दिए।
बलिङ तर्फ: ज्ञानदा एकेडेमीका रोबिन कुमारले ३ विकेट र अंकुश गुप्ताले १ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको ज्ञानदा एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन जोडेको थियो।
ब्याटिङ: ज्ञानदाका लागि विवेक प्रजापतिले ३६ रन र अंकित कुर्मीले ३५ रन बनाए।
बलिङ: एनआई कलेजका निरज पटेलले घातक बलिङ गर्दै ४ विकेट लिए भने अभय यादवले १ विकेट झारे।
पर्सा क्रिकेट संघको प्राविधिक समन्वयमा नेशनल इन्फोटेक कलेजले आयोजना गरेको यस प्रतियोगितामा पर्सा, बारा र मकवानपुर जिल्लाका कुल १० वटा कलेजका टिमहरूले सहभागिता जनाएका थिए। स्थानीय स्तरमा क्रिकेटको विकास र कलेज तहका विद्यार्थीहरूमा लुकेको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।















