२० पुष, काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रक्रियालाई औपचारिकता दिन आगामी माघ ५ गते विशेष साधारण सभा आह्वान गरेको छ ।
काठमाडौँको नयाँ बानेश्वरस्थित आनन्दभूमि इभेन्ट्समा आयोजना हुने सभाले १५ लाख कित्ता सेयर निष्कासन गर्ने प्रस्तावलाई मुख्य एजेन्डाका रूपमा पारित गर्नेछ । कम्पनीले हालै लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ, जसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १५ करोड रुपैयाँ बराबरको सेयर बजारमा आउने निश्चित भएको छ ।
विशेष सभाले आईपीओ जारी गर्ने मात्र नभई कम्पनीको सेयर संरचनामा परिवर्तन गर्ने र सोही अनुरूप प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावहरूमाथि समेत छलफल गरी निर्णय लिनेछ । स्थापनाको तेस्रो वर्षदेखि नै लगातार ६ वर्षसम्म खुद मुनाफा आर्जन गर्न सफल यो कम्पनी आर्थिक रूपमा निकै सबल देखिएको छ ।
उक्त कम्पनीको हालको अधिकृत पुँजी १ अर्ब र जारी पुँजी ५० करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा व्यवस्थापन र कर्पोरेट एडभाइजरी सेवामा विशिष्ट पहिचान बनाएको नेक्सजेनले गत वर्ष आफ्ना लगानीकर्तालाई नगद लाभांश समेत वितरण गरेको थियो । यस वर्षको नाफालाई जगेडा कोषमा राखेर कम्पनीले आफ्नो नेटवर्थलाई मजबुत बनाएकाले पनि यसको आईपीओप्रति लगानीकर्ताहरूको आकर्षण बढ्ने देखिएको छ।
विशेष साधारण सभाले सर्वसाधारण समूहका लागि तोकिए बमोजिम जारी तथा चुक्ता पुँजी मिलान गर्ने र निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीका तर्फबाट प्रतिनिधि मनोनयन गर्ने जस्ता प्रशासनिक कार्यहरूलाई पनि टुंगो लगाउनेछ । अनुभवी व्यवस्थापकहरूको समूहद्वारा सञ्चालित कम्पनीले दोस्रो बजारमा नयाँ प्रकृतिको सेवा प्रदायक क्षेत्रको प्रतिनिधित्व गर्ने भएकाले कम्पनीको सेयर निष्कासनलाई पुँजी बजारमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
माघको पहिलो साता हुने सभाले ग्रिन सिग्नल दिएसँगै कम्पनीले नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाउनेछ । त्यसपछि तत्कालै शेयर निष्काशन प्रकृया अघि बढ्ने प्रबन्ध संचालक रमेश कुमार भट्टराईले जानकारी दिनुभयो ।















