२१ पौष, वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल र प्राइभेट एण्ड बोर्डिङ स्कूल्स अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । आइतबार मेडिकल कलेजको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाबीच सहुलियतपूर्ण उपचारका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार प्याब्सन पर्सामा आबद्ध विद्यालयका बोर्ड सदस्य, शिक्षक, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारजनले नेशनल मेडिकल कलेजमा उपचार गराउँदा विभिन्न विशेष सहुलियत र सुविधाहरू प्राप्त गर्नेछन् ।
यस सहकार्य अन्तर्गत अस्पतालले ओपीडी टिकट, जनरल बेड, आईसीयू, एनआईसीयू, पीआईसीयू, विभिन्न किसिमका शल्यक्रिया तथा फार्मेसी सेवामा विशेष छुटको व्यवस्था गरेको छ । त्यसैगरी, रोग निदानका लागि आवश्यक पर्ने प्याथोलोजी ल्याब परीक्षण, भिडियो एक्स-रे, सिटी स्क्यान, एमआरआई, ईसीजी, इको, र टीएमटी लगायतका सम्पूर्ण डायग्नोस्टिक सेवाहरूमा पनि आकर्षक सहुलियत प्रदान गरिनेछ ।
यी सुविधाहरूका अतिरिक्त आकस्मिक तथा आपतकालीन उपचार सेवा, क्यासलेस तेस्रो पक्ष बीमा सुविधा र विद्यालयहरूमै चिकित्सकहरू पुगेर ‘अन साइट’ क्लिनिक सञ्चालन गर्ने जस्ता प्रभावकारी सेवाहरू समेत यस सम्झौतामा समेटिएका छन् ।
सम्झौता पत्रमा नेशनल मेडिकल कलेजका एडमिसन अफेयर्स तथा मार्केटिङ निर्देशक अबिद हुसेन अन्सारी र प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले हस्ताक्षर गरेका छन् । यो सम्झौता तत्कालका लागि एक वर्ष लागू हुने र दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न सकिने बताइएको छ।
कार्यक्रममा बोल्दै निर्देशक अन्सारीले शैक्षिक क्षेत्रमा योगदान पुर्याइरहेका व्यक्तिहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउन अस्पताल सदैव तत्पर रहेको बताए । यस्तै, प्याब्सन पर्साका अध्यक्ष चौधरीले यो सहकार्यले निजी विद्यालयमा कार्यरत जनशक्तिको स्वास्थ्य सुरक्षामा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हरिशङ्कर साह, प्याब्सनका गेम को-अर्डिनेटर हासिम अन्सारी, मेडिकल कलेजका चीफ इन्फर्मेसन अफिसर इञ्जिनियर प्रदीप कुमार चौधरी र मार्केटिङ म्यानेजर जितेश चन्द्र दास लगायतको उपस्थिति रहेको थियो ।















