Logo

२१ पौष, हेटौडा । हेटौँडा-काठमाडौँ जोड्ने भीमफेदी-कुलेखानी-काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटनामा परेपछि घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी हेटौँडा अस्पताल लगिएको थियो ।

उनका अनुसार गम्भीर घाइते छ जनाले उपचारकै क्रममा ज्यान गुमाएका हुन् । मृतकहरूको पहिचान भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अन्य तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था चिकित्सकीय निगरानीमा रहेको जानकारी दिइएको छ ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । घुमाउरो र साँघुरो सडकका कारण सो सडक खण्डमा बेलाबेलामा सवारी दुर्घटना हुने गरेको स्थानीयले बताएका छन् ।


सम्बन्धित समाचार
भर्खरै