Logo

२४ पौष, वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा इन्स्टिच्युट अफ मेडिसिन (आईओएम), त्रिभुवन विश्वविद्यालयका डीन प्रा.डा. मोहनराज शर्माको सम्मान तथा स्वागत कार्यक्रम बुधबार भव्य रूपमा सम्पन्न भएको छ। सोही अवसरमा कलेज परिसरभित्र नवनिर्मित अत्याधुनिक कन्फरेन्स हलको औपचारिक उद्घाटनसमेत गरिएको छ।

कार्यक्रममा महाराजगञ्ज मेडिकल क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. सुरेश उप्रेती अतिथि सम्माननीयका रूपमा सहभागी थिए । कार्यक्रमको अध्यक्षता नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारीले गरेका थिए ।

कार्यक्रममा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका व्यवस्थापकीय निर्देशक शहनवाज अन्सारी, अस्पताल निर्देशक डा. इश्रत जहाँ अन्सारी, एकेडेमिक निर्देशक डा. रुबी श्रेष्ठ, एडमिसन तथा मार्केटिङ निर्देशक अबिद हुसेन अन्सारी, कलेजका कार्यवाहक प्राचार्य प्रा.डा. आनन्द कुमार चौरसिया, उपप्राचार्यहरू, विभागीय प्रमुख, शिक्षक, चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

राष्ट्रिय गान तथा प्रमुख अतिथि, अतिथि सम्माननीय र अध्यक्षद्वारा संयुक्त रूपमा पानस प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। स्वागत मन्तव्य कार्यवाहक प्राचार्य प्रा.डा. आनन्द कुमार चौरसियाले व्यक्त गरेका थिए । वक्ताहरूले नेशनल मेडिकल कलेजले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, अनुसन्धान र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए ।

सम्मान कार्यक्रमअन्तर्गत प्रमुख अतिथि प्रा.डा. मोहनराज शर्मा र अतिथि सम्माननीय प्रा.डा. सुरेश उप्रेतीलाई दोसल्ला तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित अतिथिहरूले चिकित्सा शिक्षाको गुणस्तर सुधार, शैक्षिक सहकार्य विस्तार र स्वास्थ्य सेवाको प्रभावकारिताबारे आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको धन्यवाद ज्ञापन कलेजका उपप्राचार्य प्रा.डा. रविशंकर गुप्ताले गर्नुभएको थियो भने समापन मन्तव्य अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारीले दिएका थिए। यस अवसरले नेशनल मेडिकल कलेज र राष्ट्रियस्तरका शैक्षिक तथा स्वास्थ्य संस्थाबीचको सहकार्य र सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।


सम्बन्धित समाचार