Logo

२७ पौष, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ मा आयोजित ‘दोस्रो सखुवाप्रसौनी वडा स्तरीय क्रिकेट प्रतियोगिता’को उपाधि चैनपुरले जितेको छ । शनिबार भएको रोमाञ्चक फाइनल भिडन्तमा महुवनलाई हराउँदै चैनपुरले च्याम्पियनको ट्रफी उचालेको हो ।

सोलकुपुर युवा समाजद्वारा आयोजित प्रतियोगिताको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको महुवनले निर्धारित २० ओभरमा १८३ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको चैनपुरले आक्रामक खेल प्रदर्शन गर्दै १८ ओभरमै उक्त लक्ष्य पुरा गर्‍यो । चैनपुरको जितमा ८५ रनको उत्कृष्ट योगदान दिएका राजन साह ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि एवं सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जशवन्त यादवले विजेता टोली चैनपुरलाई नगद ४० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरे । त्यसैगरी, उपविजेता महुवनले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।

पुरस्कार वितरण गर्दै अध्यक्ष यादवले ग्रामीण स्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले युवा खेलाडीहरूको प्रतिभा पहिचान गर्न र खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले गाउँपालिकाले खेल क्षेत्रको प्रवर्द्धनका लागि सधैँ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व प्रदेश सभा सदस्य मन्जुर अन्सारी र वडा नम्बर ४ का वडाध्यक्ष आरिफ अन्सारीको उपस्थिति रहेको थियो । सो अवसरमा आयोजक सोलकुपुर युवा समाजका पदाधिकारी, स्थानीय खेल प्रेमी तथा समर्थकहरूको उपस्थिति थियो ।


सम्बन्धित समाचार
भर्खरै