३० पौष, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्णायक मोडमा पुगेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका पार्टीको संरचनात्मक सुधारसम्बन्धी प्रस्ताव मंगलबार साँझ पारित भएसँगै पार्टीभित्रको टकराव थप तीव्र बनेको हो ।
प्रस्ताव पारित भएपछि महामन्त्री गगन थापाले अबका सबै निर्णय विशेष महाधिवेशनको हलबाटै हुने स्पष्ट पार्दै यसलाई “विद्रोहको अभियान” का रूपमा व्याख्या गरेका छन् । बाहिरबाट हुने सहमति र दबाब स्वीकार्य नहुने उनको भनाइ छ । यस्तै, अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई कांग्रेसको भावी नेतृत्व तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् ।
विशेष महाधिवेशन अघि बढिरहँदा संस्थापन पक्षसँग सहमतिका लागि प्रयास भए पनि शेरबहादुर देउवाले सभापति पद छोड्नुपर्ने, महाधिवेशनलाई संस्थागत रूपमा स्वामित्व लिनुपर्ने जस्ता प्रस्तावमा सहमति जुट्न सकेन । संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई अवैधानिक ठान्दै आएको छ ।
यसैबीच विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी प्रक्रिया अघि बढेको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार उम्मेदवारी दर्ता बुधबार बिहान सवा ८ बजेदेखि सवा ९ बजेसम्मका लागि तय गरिएको छ । हिजो कति उम्मेदवारी परेको भन्ने यकिन गर्न बाँकी रहेको र त्यसको विस्तृत विवरण आज नै सार्वजनिक गरिने उनले बताए । नयाँ नेतृत्वका लागि आजै मतदान हुने सम्भावना पनि रहेको छ ।
यता महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनबाट आफूलाई कुनै पद नचाहिएको स्पष्ट पारेका छन् । विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित बन्दसत्रमा उनले पदका लागि होइन, पार्टी रुपान्तरण र आन्तरिक लोकतन्त्रको सवाल उठाउन विशेष महाधिवेशन गरिएको बताएका छन् । पार्टीभित्र गुटभन्दा पनि गिरोह बढ्दै गएको उल्लेख गर्दै उनले कांग्रेसलाई बदल्न अब ढिलाइ गर्न नहुने धारणा राखे । बाहिर फैलाइने हल्लाको पछि नलाग्नसमेत उनले प्रतिनिधिहरूलाई आग्रह गरे ।
यसैबीच नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्दैछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिएको उनले जानकारी दिए ।
आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको भए पनि थप छलफल र तयारी आवश्यक परेकाले अन्ततः बुधबारका लागि सारिएको मुख्यसचिव पौडेलले बताए ।
विशेष महाधिवेशन र केन्द्रीय कार्यसमितिको बैठकसँगै कांग्रेसभित्रको शक्ति सन्तुलन र सम्भावित विभाजनको दिशाबारे आजका निर्णयलाई अत्यन्त निर्णायक मानिएको छ ।













