Logo

१ माघ, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाको १६औँ अधिवेशन गाउँ कार्यपालिकाको कार्यालयमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष जसवन्त यादवले स्थानीय सरकार जनताको प्रत्यक्ष सहभागिता र आवश्यकताअनुसार योजना निर्माण गर्न प्रतिबद्ध जनाएका छन् । उनले पारदर्शिता, सुशासन र विकासलाई मूल मन्त्र मान्दै गाउँपालिकालाई समृद्ध बनाउने लक्ष्य रहेको उल्लेख गरे ।

अधिवेशनमा आफ्नो धारणा राख्दै गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतोले सामाजिक विकासका साथै महिला, बालबालिका र विपन्न वर्गको सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले गाउँसभाबाट पारित हुने नीतिले स्थानीय तहमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादवले आर्थिक अनुशासन र प्रभावकारी सेवा प्रवाहमा गाउँपालिका प्रशासन सचेत रहेको बताउँदै जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यबाट मात्र विकासको लक्ष्य भेटिने धारणा राखे ।

अधिवेशनमा वडा नं. १ का अध्यक्ष बसुदेव महतो थारु, वडा नं. २ का अध्यक्ष चिरञ्जीवी महतो थारु, वडा नं. ४ का अध्यक्ष मोहम्मद आरिफ अन्सारी, वडा नं. ५ का अध्यक्ष अशेश्वर यादव र वडा नं. ६ का अध्यक्ष मुन्ना कमकर लगायतले आ-आफ्नो वडाका समस्या र आवश्यकता प्रस्तुत गरेका थिए । वडाध्यक्षहरूले विशेषगरी शिक्षा, स्वास्थ्य, सडक र रोजगारी सिर्जनामा बजेट केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।

आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा केन्द्रित रहेर गरिएको यस छलफल र पारित निर्णयहरूले स्थानीय जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार