२१ चैत,वीरगञ्ज । नेपाल टेलिकमले फाइबर विच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको भन्दै वीरगञ्ज महानगरपालिकाले टेलिकमको परिसरमा फोहोर फ्याँकेर असभ्यता प्रकट गरेको छ ।
टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक विगार्दा नगरवासीले पीडा भोग्नु परेको भन्दै महानगरले निर्माणका लागि पटक पटक आग्रह गर्दा पनि अटेर गरेको भन्दै श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा सडकको फोहोर खसालेको हो ।
महानगरपालिकाले वीरगन्जमा सन्चालन गरिरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगरप्रहरी सहितको टोलीले ७ ट्याक्टर कचरासहितको फोहोर टेलिकमको परिसरभित्र लगेर फालेका थिए ।

टेलिकमले अप्टिकल फाइबार विच्छ्याउने क्रममा बाइपास सडकखण्डको करिब ५ किलोमिटर कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको छ । खनिएका सडक र फुटपाथ मर्मतका लागि पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर टेलिकम परिसरमा कचरा सहितको फोहोर फाल्नु परेको महानगरप्रमुख राजेशमान सिंहले बताए ।
टेलिकमको कार्यालयमै फोहोर फालेपछि सडक र फुटपाथ मर्मतका लागि टेलिकमलाई दबाबमा पार्न खोजेको मेयर सिंहले बताए ।
गएको फागुन ३ गते प्रमुख जिल्ला अअधिकारीकै उपस्थितीमा बसेको सरोकारवाला निकायहरुको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्त भित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको महानगरप्रमुख सिंहले जानकारी दिए । उक्त सहमति कार्यान्वयनका लागि महानगरपालिकाले टेलिकमलाई पटक पटक आग्रह गर्दै आएको सिंहको भनाई छ ।
फोहोरसहितको टयाक्टर लिएर टेलिकम परिसरमा आफैं पुगेका सिंहले भने, ‘वीरगञ्ज शहरलाई सफा र सुन्दर बनाउन महानगरले अभियान नै चलाइरहेको छ, यो अवस्थामा टेलिकमले सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र पार्दा बाइपास सडक कुरुप भएको छ, त्यसलाई पहिलेकै अवस्थामा पुग्ने गरि मर्मत गरिदेउ भनेर पटक आग्रह गर्दा कुनै टेरपुच्छर नलगाएपछि हामी यो कदम चाल्न बाध्य भएका हौं ।’

उक्त सहमति पालना गराउनका लागि महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सालाइ पनि पत्र लखेर आग्रह गर्दा समेत टेलिकमले नटरेको सिंहको भनाई छ ।
यता मेयर राजेशमान सिंहले आफ्नै उपस्थितीमा टेलिकमको कार्यालय परिसरमा फोहोर फालेको विरोधमा नेपाल टेलिकमका कर्मचारीले मेयर सिंहको दादागिरीको विरुद्ध नाराबाजी लगाएका छन् । टेलिकमका कर्मचारीले नाराबाजी लगाउदै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ध्यानाकर्षण गराएका छन ।
पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले महानगरपालिकासँग बसेर समस्याको हल गर्न टेलिकमका कर्मचारीलाई सुझाव दिएका छन् । उनले यो समस्या महानगरपालिकासँग जोडिएकोले मेयरसँग वसेर छलफल गर्न कर्मचारीलाई सुझाव दिएको टेलिकमका एक कर्मचारीले बताए ।
वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले प्रतिशोध राखेर काम गर्न खोजेको नेपाल टेलिकम वीरगञ्जका कर्मचारीले आरोप लगाएका छन् । उनीहरुले मेयर सिंहले आफ्नो लाचारी ढाकछोप गर्नको लागि टेलिकमको परिसरमा फोहोर फालेर गैरकानुनी क्रियाकलाप प्रर्दशन गरेको बताएका छन् ।

















