Logo

३ माघ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएलगत्तै थापाले बैठक आह्वान गरेका हुन्।

बैठक आज बिहान ११ः३० बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्नेछ। बैठकमा पछिल्लो राजनीतिक अवस्था, निर्वाचन आयोगको निर्णयपछि पार्टीको भूमिका तथा आगामी राजनीतिक र संगठनात्मक कदमबारे छलफल हुने नेताहरूले जानकारी दिएका छन्।

थापाले शुक्रबार निर्वाचन आयोगबाट नेपाली कांग्रेसको आधिकारिकता पाएका थिए। आयोगको निर्णयसँगै कांग्रेसको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डा गगन थापा नेतृत्वको पक्षमा कायम भएको छ।

यससँगै सभापति थापा पार्टीको तर्फबाट प्रत्यक्ष निर्वाचन लड्ने उम्मेदवार छनोट लगायत निर्वाचन तयारीमा जुटेका छन्। आजको बैठक निर्वाचन आयोगबाट आधिकारिकता प्राप्तिपछिको पहिलो केन्द्रीय कार्यसमिति बैठक हो, यद्यपि थापा सभापति चयन भएपछि बसेको दोस्रो बैठक हो।

पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत सभापति चयन गरेको थियो। सभापति चयनपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा पक्षले आयोगमा आधिकारिकताको दाबी गर्दै कागजात पेस गरेको थियो।

उता शेरबहादुर देउवा पक्षले पनि आफूहरू नै आधिकारिक भएको जिकिरसहित छुट्टै कागजात पेस गरेको भए पनि निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिएको हो।


सम्बन्धित समाचार